यूएईमा हुनुहुन्छ ? सामाजिक सञ्जाल प्रयोग गर्दा ख्याल गर्नुहोस् है ! जेल र जरिवानामा पर्नुहोला

यूएईमा हुनुहुन्छ ? सामाजिक सञ्जाल प्रयोग गर्दा ख्याल गर्नुहोस् है ! जेल र जरिवानामा पर्नुहोला

दुबई । तपाईँ यूएईमा सामाजिक सञ्जालको प्रयोग गरिरहनु भएको छ ? यदी यूएईमा बसरे सामाजिक सञ्जालमा कुनै तस्बीर, भिडियो तथा सूचना पोस्ट तथा शेयर गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस् है ! यहाँ सामाजिक सञ्जालको प्रयोग गर्दा धेरै कुरामा विचार पुर्‍याउनुपर्नेछ, हाेइन भने तपाईँलाई जरिवाना र कैद सजाय हुनसक्छ।

खालीज टाइम्सका अनुसार यहाँका कानूनविद्हरूले सामाजिक सञ्जालमा अनाधिकृत स्रोतबाट प्राप्त अनौपचारिक समाचार वा सूचना पोस्ट तथा शेयर नगर्न आग्रह गरेका छन्। सो नियमको उल्लङ्घन गरेको पाइएमा ठूलो परिमाणमा जरिवाना तथा सजायको भागिदार हुनुपर्ने उनीहरुले चेतावनी दिएका हुन्।

एडीजी कानूनका प्रबन्धक पार्टनर मोहम्मद अल दहबाशीले नयाँ साइबर क्राइम कानूनको बारेमा बताउँदै प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालमा कुनै पनि सूचना सार्वजनिक गर्नुअघि त्यसको स्रोत र विश्वनीयता प्रमाणित गर्न आग्रह गरेका छन्।

दहबाशीले झुटो समाचार, अनौपचारिक समाचार वा राष्ट्रिय सुरक्षामा बाधा पुर्‍याउने कुनै पनि सामग्री शेयर गर्ने जो कोहीलाई दण्डित गरिने कानूनमा स्पष्ट रुपमा उल्लेख भएको बताएका छन्।

कस्तो अवस्थामा अनुमतिबिना अन्य मानिसहरुको तस्बीर र भिडियो खिच्न सकिन्छ ?

–कुनै पनि परिस्थितिमा यूएईको कानूनको उल्लङ्घन गरेको ठहर्ने वा गैरकानूनी कार्यको भिडियो पोस्ट गर्न, प्रकाशित गर्न, वा सेयर गर्न पाइनेछैन।

–घटनाको प्रमाणको रूपमा अधिकारीहरूसँग शेयर गर्ने उद्देश्यले अन्य पक्षको अनुमतिबिना कुनै पनि प्रकारको अपराध वा उल्लङ्घनको फोटो खिच्न वा भिडियोहरू रेकर्ड गर्न अनुमति दिइएको एक मात्र अवस्था भएको बताइएको छ।

यूएईको रक्षा बलले हौथी आतंकवादी हमलालाई रोक्ने भिडियो सामाजिक सञ्जालमा प्रसारित भएपछि यहाँको सार्वजनिक अभियोजनले राष्ट्रिय सुरक्षालाई हानि पुर्‍याउने र आतंक पैदा गर्ने सामग्री शेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेसँगै यो सल्लाह दिइएको हो।

यहाँको पब्लिक प्रोसेक्युसनले सार्वजनिक गरेअनुसार सामाजिक सन्जालमा हुनसक्ने उल्लंघनका घटना र ती घटनामा हुने सजाय एवम् जरिवानाको पूर्ण सूची यसप्रकार रहेको छ :-

–जनमतलाई उत्तेजित गर्ने, आतंक फैलाउने वा राष्ट्रिय सुरक्षा र मामिलाहरूलाई हानि पुऱ्याउने सूचना : एक वर्ष जेल र १ लाख दिराम जरिवाना

–आधिकारिक घोषणाको विरोधाभास गर्ने खालका झुटा समाचार, अफवाह, भ्रामक वा गलत जानकारी : एक वर्ष जेलसजाय र १ लाख दिराम जरिवाना

–महामारी, आपतकालिन वा संकटको समयमा गलत समाचार सम्प्रेषण र शेयर गरेमा : दुई वर्षको जेलसजाय र २ लाख दिराम जरिवाना

–अन्य व्यक्तिहरूको सहमति बिना फोटो खिच्ने वा भिडियोहरू बनाएमा : छ महिना जेल वा १ लाख ५० हजारदेखि ५ लाख दिरामसम्म जरिवाना

–दुर्घटना वा सङ्कटका पीडितहरूको फोटो वा भिडियोहरू, (मृतक वा घाइते भएपनि) ( छ महिनाको जेलसजाय  र १ लाख ५० हजार देखि ५ लाखसम्म जरिवाना

–कुनै व्यक्तिको बारेमा टिप्पणी, समाचार, फोटो वा जानकारी (सत्य भएपनि यदि त्यसले हानि पुऱ्याउन सक्छ भने) : ६ महिनाको जेलसजाय र १ लाख ५० हजारदेखि ५ लाखसम्म जरिवाना

–भ्रामक वा गलत विज्ञापनहरू : जेल सजाय वा २० हजारदेखि ५ लाख दिरामसम्म जरिवाना

–अन्य देशको मानहानि गर्ने जानकारी वा डाटा सार्वजनिक गरेमा : ६ महिनाको जेलसजाय र १ लाखदेखि ५ लाख दिरामसम्म जरिवाना

–पोर्नोग्राफी वा अश्लील सामग्री : जेल सजाय वा २ लाख ५० हजारदेखि ५ लाखदिराम जरिवाना

–धर्मको निन्दा र अपमान गर्ने सामग्री : जेल सजाय र २ लाख ५० हजारदेखि १ मिलियन दिरामसम्मको जरिवाना

–चन्दा सङ्कलन गर्ने सामग्री प्रकाशित गरेमा : जेल सजाय र २ लाखदेखि ५ लाख दिरामसम्म जरिवाना

–इजाजत प्राप्त नभएका मेडिकल उत्पादनहरूलाई बढावा दिने सामग्री : जेल सजाय र जरिवाना

श्रोत : खालीज टाइम्स