‘भिजिट भिसा’मा पुगेका नेपालीको समस्या समाधानबारे श्रममन्त्री र यूएईका राजदूतबीच छलफल

‘भिजिट भिसा’मा पुगेका नेपालीको समस्या समाधानबारे श्रममन्त्री र यूएईका राजदूतबीच छलफल

काठमाडाै‌। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत साइद हमदान अलनाक्बीले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्धिपक्षीय हित र आपसी सम्वन्धबारे छलफल भएको छ।

छलफलका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा ‘भिजिट भिसा’मा यूएई गइ अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरेको मन्त्रालयले जनाएको छ।

अनधिकृत रुपमा मेनपावर कम्पनी, कन्सल्ट्यान्सी, ट्राभल्स सञ्चालक, बिचौलिया तथा लामो समयदेखि यूएईमा विभिन्न व्यवसाय गरेर बसेका नेपालीहरुले नै नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर ‘भिजिट भिसा’मा लैजाने प्रवृति देखिएको भन्दै मन्त्री श्रेष्ठले उनीहरुलाई कानूनी दायरामा ल्याउन यूएई सरकारबाट सहयोगको अपेक्षा गरे।

मन्त्री श्रेष्ठले रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर ‘भिजिट भिसा’मा यूएई पुगेर अलपत्र परेकाहरुको समस्याको स्थायी समाधान नहुन्जेल त्यंहि रोजगारीको अवसरका लागि सहयोग गर्न आग्रह समेत गरे। त्यसरी अलपत्र परेका नेपालीहरुको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानूनी रुपमा बस्नुपर्ने बाध्यता भएकालाई आममाफीको लागि पनि मन्त्री श्रेष्ठले आग्रह गरेको मन्त्रालयले जनाएको छ।

राजदूत साइदले यूएई गइ समस्यामा परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। उनले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर ‘भिजिट भिसा’मा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारवाहीको दायरामा ल्याउन सहयोग गर्ने बताए।

यस्तै उनीहरुबीच नेपाल – यूएई संयुक्त समितिको वैठक आयोजना गर्नेबारे पनि छलफल भएको थियो।