अवैध रुपमा युरोप छिर्न खोज्दा ग्रीसमा मृत्युवरण गरेका २ नेपालीको शव काठमाडौं ल्याइयो

अवैध रुपमा युरोप छिर्न खोज्दा ग्रीसमा मृत्युवरण गरेका २ नेपालीको शव काठमाडौं ल्याइयो

काठमाडौं। गत मंसिरको पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने सिलसिलामा ग्रीसको सीमा नजिकै गाडी दुर्घटना हुँदा मृत्यु भएका ४ नेपालीमध्ये २ जनाको शव काठमाडौं ल्याइएको छ।

दुर्घटनामा ज्यान गुमाएका भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटाको शव बुधवार दिउँसो काठमाडौं आइपुगेको हो। आफन्तकाअनुसार सापकोटाको कैलाली र लामाको काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिदैछ।

वैदेशिक रोजगार बोर्डले श्रमिक कल्याणकारी कोषको खर्चमा उनीहरुको शव फिर्ता ल्याएको हो।लामा र आचार्य टर्कीका लागि श्रम स्वीकृति लिएर गएका थिए।

एउटै दुर्घटनामा ज्यान गुमाएका आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले र घिरिङ गाउँपालिका–५ तनहुँका ओम बहादुर थापाको भने शव अहिले पनि ग्रीसकै शवगृहमा छ।

घले र थापाले श्रम स्वीकृति नलिइ गएको भन्दै शव ल्याउन सरकारी निकायले तदरुकता नदेखाएपछि उनीहरुको शव गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा नेपाल ल्याइदैछ।

संघका सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार अलपत्र परेका दुई नेपालीको शव ल्याउन संघले ७ हजार २ सय यूरो संकलन गरेर ग्रीस पठाइसकेको छ । उडान प्रभावित नभएमा शनिवार शव नेपाल पठाइने उनले जानकारी दिए।



No ads found for this position