‘भिजिट भिसा’मा विदेश जाने नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न समिति गठन

‘भिजिट भिसा’मा विदेश जाने नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न समिति गठन

काठमाडौं । सरकारले ‘भिजिट भिसा’मा यूएईलगायत खाडी मुलुकमा गएर नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न सात सदस्यीय समिति गठन गरेको छ।

नेपालीहरुले ‘भिजिट भिसा’ प्रयोग गरी दुबईलगायत खाडी मुलुकमा गई भोग्नुपरेका विभिन्न कठिनाइ र त्यसबारे देखिएका समस्या समाधानका लागि ठोस कार्ययोजना पेस गर्न गृहमन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ।

समितिका सदस्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिषचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल र अध्यागमन विभागका निर्देशक (उपसचिव) प्रकाशचन्द्र अधिकारी रहेका छन्। समितिको सदस्यसचिवमा वैदेशिक रोजगार बोर्डका उपसचिव दीनबन्धु सुवेदी रहेका छन्।

बैठकमा विदेशमा जाने नेपालीका श्रमजन्य गतिविधि र श्रमका लागि भिजिट भिसाको प्रयोग, अध्यागमन प्रणाली र विदेशमा कार्यरत नेपालीका समस्या र त्यसको समाधानबारे छलफल भएको गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए।

बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्जिट क्षेत्रमा उपयुक्त संरचनात्मक सुधार तथा व्यवस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गर्ने निर्णय गरेको छ।

त्यस्तै पर्यटन मन्त्रालयले नै अन्तर्राष्ट्रिय उडानको आगमन तथा प्रस्थानलाई व्यवस्थित बनाउन उपयुक्त समय अन्तरालसहितको उडान तालिका व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ। कार्गो र लगेजको एक्स–रेसहित स्क्यानिङ र आवश्यक नियमनका लागि भन्सार विभागसमेतको समन्वयनमा नेपाल प्रहरीले आवश्यक प्रबन्ध गर्ने निर्णय पनि भएको जनाइएको छ।रासस