मानव बेचबिखनविरुद्ध रोयल ओमन प्रहरीको हटलाइन सेवा

मानव बेचबिखनविरुद्ध रोयल ओमन प्रहरीको हटलाइन सेवा

मस्कट। मानव बेचबिखनलाई रोक्न रोयल ओमन प्रहरीले हटलाइन सेवा सुरु गरेको छ। मानव तस्करी गर्ने गिरोहको चँगुलमा फसेर ओमन आइपुगेका आप्रवासी श्रमिकलाई सहयोग गर्ने उद्धेश्यले राष्ट्रिय मानव बेचबिखनविरुद्धको समितिले हटलाइनको व्यवस्था गरेको हो।

प्रहरीले पहिला भनेजस्तो काम र सेवासुविधा नभएको अथवा कुनै किसिमको हिंसा वा शोषण भएमा ८००७७४४४ नम्बरमा फोन गरेर सहयोग लिन आग्रह गरेको छ।

जस्तै तपाईँको साथमा पासपोर्ट नभएमा, पाउने सेवा सुविधा सम्झौता पत्रमा उल्लेख गरेभन्दा कम भएमा, कार्य अवधिभन्दा बढी समय काम गर्न बाध्य बनाएमा, साप्ताहिक बिदा नदिएमा र बिदाको दिन काम गरेबापतको तलब नदिएमा प्रहरीले जानकारी गराउन आग्रह गरेको छ।

यस्तै रोजगारदाताले भिसा वापतको पैसा मागेमा, आवास, खाना र उपचार खर्चवापतको पैसा मागेमा, आफूले दु : ख पाएकोबारे यहाँको प्रहरी वा श्रम मन्त्रालयमा उजुरी गरेमा नेपाल फर्काइदिन्छु भन्ने जस्ता धम्की दिएमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।

यसैगरी कार्यस्थलमा शारीरिक दुर्व्यवहार भएमा, कुटपिट गरेमा, कसैले शारीरिक सम्पर्कको लागि बाध्य पारेमा हटलाइनमा फोन गरेर जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले यस्ता किसिमका समस्यामा परेकालाई निः शुल्क सेवा दिनेछ। यस्ता समस्यामा परेकालाई मद्दत गर्न तालिम प्राप्त प्रहरी तयारी अवस्थामा रहनेछन्।

नजिकैको प्रहरीको कार्यालयमा गएर समेत आफूले भोगेको समस्या राख्न सकिनेछ। अंग्रेजी र अरबीक भाषामा सेवा लिन सकिनेछ। यदि तपाईँलाई अंग्रेजी र अरबीक भाषा आउँदैन भने अन्य जानेका व्यक्तिबाट सहयोग लिन प्रहरीले अनुरोध गरेको छ।

थप जानकारीको लागि यहाँ क्लिक गनुहोस्