यूएईमा कम्पनीको पैसा चोरी गर्ने एक श्रमिकलाई जेलसहित ३० हजार दिराम जरिवाना

यूएईमा कम्पनीको पैसा चोरी गर्ने एक श्रमिकलाई जेलसहित ३० हजार दिराम जरिवाना सांकेतीक तस्वीर

दुबई। संयुक्त अरब इमिरेट्स (यूएई)मा सरसफाई श्रमिक (क्लिनर) को रुपमा काम गर्दै आएका एक व्यक्ति कारवाहीको भागिदार भएका छन्।

एसियाली मूलका ३५ वर्षीय ती श्रमिकलाई आफूले काम गर्दै आएको कम्पनीबाट रकम चोरी गरी कार्यालय नजिकैको आँगनमा लुकाएको अभियोग छ। उनलाई दुबईको फौजदारी अदालतले तीन महिनाको जेल सजाय, ३० हजार दिराम जरिवाना र देशनिकालाको सुनाएको छ।

यो घटना नोभेम्बर, २०२१ को भएको बताइएको छ। त्यतिबेला एक लगानीकर्ताले कम्पनीको मुख्यालयको सेफबाट ३० हजार दिराम चोरी भएको उजुरी गरेका थिए। लगानीकर्तालाई भने कार्यालयका लेखापालले कार्यालयको पछाडीको ढोका राम्ररी बन्द नभएको जानकारी गराएका थिए। उनले धारिलो उपकरणको सहायताले दराज फुटालिएको र सेफबाट पैसा चोरी भएको अवस्थामा फेला पारेका थिए।

प्रहरीले सिसिटिभी निरीक्षण गर्दा ती श्रमिकले दराज खोलेर उक्त रकम लगेको पत्ता लगाएका थिए। सोधपुछका क्रममा ती अभियुक्तले आफ्नो अपराध स्वीकार गर्दै रकम लुकाइएको स्थानको बारेमा खुलासा गरेका थिए।

ती अभियुक्तले बयानका क्रममा आफू साँझको समयमा कार्यालय गई पछाडिको ढोकाबाट भित्र पसेको बताएका थिए। त्यस्तै त्यहाँ रहेका अन्य कर्मचारीहरु बाहिर निस्कने बेलासम्म एउटा कुनामा लुकेका थिए।त्यसपछि क्यासबक्स नजिकै गई सेफ खोलेर सो रकम चोरी गरेका थिए। रकम चोरी गरिसकेपछि कम्पनीकै नजिक बालुवा रहेको स्थानमा लुकाएर घरमा फर्किएको बताएका थिए।

ती अभियुक्तलाई भोलिपल्ट नै उनको निवासबाट पक्राउ गरिएको बताइएको छ।