अवैध रुपमा युरोप छिर्न खोज्दा ग्रीसमा मृत्युवरण गरेका नेपालीको शव ल्याउन एनआरएनएको सहयोग

अवैध रुपमा युरोप छिर्न खोज्दा ग्रीसमा मृत्युवरण गरेका नेपालीको शव ल्याउन एनआरएनएको सहयोग

काठमाडौं। ग्रीसको शवगृहमा अलपत्र परेका नेपालीको पार्थिव शरीर गैरआवासीय नेपाली संघ (एनआरएनए) को आर्थिक सहयोगमा नेपाल ल्याइदैछ।

सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार विगत तीन महिनादेखि अलपत्र परेका दुई नेपालीको शव ल्याउन संघले ७ हजार २ सय यूरो संकलन गरेर ग्रीस पठाइएको छ।

‘हामीले आवश्यक रकम एजेन्सीलाई पठाइसकेका छौँ’ सहकोषाध्यक्ष दाहालले भने, ‘ ग्रीसमा अहिले अत्याधिक हिउँ परिरहेको छ। यदी उडान प्रभावित नभएमा शनिवार नेपाल पठाउने योजना छ।’

गत मंसिरको पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने सिलसिलामा ग्रीसको सीमा नजिकै गाडी दुर्घटना हुँदा ४ नेपालीको मृत्यु भएको थियो । दुर्घटनामा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटाको ज्यान गएको थियो।

दुर्घटनामा मृत्यु भएका लामा र आचार्यको शव ल्याउन श्रमिक कल्याणकारी कोषबाट रकम खर्चिए पनि घले र थापाको भने श्रम स्वीकृति नलिइ गएको भन्दै सरकार पन्छिएको थियो। लामा र आचार्य टर्कीसम्म श्रम स्वीकृति लिएर गएका थिए। उनीहरुको शव बुधवारसम्म नेपाल आइपुग्ने भियनास्थित नेपाली दूतावासले जनाएको छ।

घले र थापाको शव फिर्ता ल्याउन सरकारी निकायले तदरुकता नदेखाएपछि परिवारले एनआरएनएलाई गुहारेका थिए। ‘कमजोर आर्थिक अवस्थाका कारण परिवारले शव झिकाउन नसकेपछि संघले सहयोग संकलन अभियान सुरु गरेको थियो,’ संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक डा। बद्री केसीले भने । उनका अनुसार शव ल्याउन कोषबाट २ हजार डलर उपलब्ध गराइएको छ।

सहयोग संकलन अभियानको नेतृत्व गरेका कोषाध्यक्ष दाहालका अनुसार हालसम्म ६ हजार ९ सय २३ यूरो संकलन भइसकेको छ। जससमा संघको केन्द्रीय समितिबाट २ हजार र एनआरएनए वैदेशिक रोजगार कल्याणकारी कोषबाट २ हजार डलर छुट्याइएको छ । यस्तै अभियानको नेतृत्वकर्ता दाहाल स्वय्मले ५ सय यूरो सहयोग गरेका छन् भने सचिव गौरीराज जोशी र मध्यपूर्व युवा संयोजक राज रेग्मीबाट ५ ५ सय डलकारको प्रतिवद्धता आएको छ।

यो पनि पढ्नुहोस्

गैरकानुनी रुपमा ग्रिस प्रवेश गर्ने क्रममा ४ नेपालीको मृत्यु भएको इन्टरपोलद्धारा पुष्टी