कतारमा कोभिड संक्रमित बिरामीले ७ दिनमात्र बिदा पाउने

कतारमा कोभिड संक्रमित बिरामीले ७ दिनमात्र बिदा पाउने फाइल फोटो

दोहा। कतारमा कोभिड संक्रमित बिरामीलाई आइशोलेसनको समयअवधि घटाइएको छ। यहाँको स्वास्थ्य मन्त्रालयले संक्रमितलाई अनिवार्य गरिएको आइसोलेशन र बिरामी बिदाको अवधि १० दिनबाट घटाएर ७ दिन कायम गरेको हो।

यहाँको चिकित्सकिय सुविधामा गरिएको परीक्षणमा कोभिडको ‘पोजेटिभ’ रिपोर्ट देखिएमा र ‘एहत्राज’ एप रातो रंगमा परिवर्तन भएका व्यक्तिहरूले स्वतः ७ दिनको बिरामी बिदा पाउनेछन्। त्यस्ता व्यक्तिहरूले सातौं दिनमा मन्त्रालयले स्वीकृति दिएको चिकित्सकिय सुविधामा ‘रेपिड एन्टिजेन’ परीक्षण गर्नुपर्नेछ। यदि सो परीक्षणको रिपोर्ट नेगेटिभ आएमा त्यस्ता व्यक्तिको ‘एहत्राज’ एप हरियो रंगको हुनेछ । योसँगै तिनीहरू आठौं दिनमा आइसोलेशन छोडेर आफ्नो काममा फर्कन सक्नेछन्।

यदि सातौं दिनको रेपिड एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएमा त्यस्ता व्यक्तिलाई थप ३ दिन आइसोलेशन बस्नको लागि ३ दिनको बिरामी बिदा दिइनेछ। ती व्यक्तिहरु थप परीक्षण बिना नै ११ औं दिनमा आइसोलेशन मुक्त हुनेछन्।

मन्त्रालयले पछिल्लो स्थानीय र अन्तर्राष्ट्रिय क्लिनिकल प्रमाणहरूको समीक्षापछि आइसोलेशन अवधि घटाउने निर्णय गरिएको बताएको छ। जसअनुसार सातौं दिनमा धेरै व्यक्तिहरू नेगेटिभ हुने र अरूलाई भाइरस सार्ने जोखिम कम हुने बताइएको छ।

मन्त्रालयले सबैलाई आइसोलेसन अवधि समाप्त भएपछि निदृष्ट गरिएका सावधानीका उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। सरकारी नीतिअनुसार मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र हातको राम्रो सरसफाइ गर्न आग्रह गरिएको छ।