साउदी अरवको कोठामा छटपटाइरहेका रानाको उपचार र उद्धार प्रयास

साउदी अरवको कोठामा छटपटाइरहेका रानाको उपचार र उद्धार प्रयास

काठमाडौ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो व्यक्त गरेका छन् । उनले उपचार र उद्धारका लागि पहल गरेपछि साउदी अरेबियास्थित नेपाली दूतावासले चासो देखाएको छ।

शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्वीर र भिडियो प्रकाशित भएको थियो। आइतवार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली उनी रहेको स्थानमा गएर उनको अवस्थाबारे जानकारी लिएको छ।

श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोली राना भएको ठाउामा गइ उपचारका लागि स्थानीय अस्पतालमा लगेको छ। नेपाली दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रवन्ध गर्दै आएको थियो। आठमध्ये एकजना नेपाल फर्किसकेका छन् भने अन्य छ जना मंगलवार नेपाल फर्कनेछन्।

रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो । तर, उनमाथि पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ।

रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले बताए। मन्त्री श्रेष्ठले अलपत्र नेपाली श्रमिक उद्धारका लागि नेपाली दूतावास र श्रम सहचारीले गरेको प्रयासका लागि धन्यवाद दिएका छन्।