अष्ट्रेलियाको नक्कली भिसा प्रकरण : पैसा फिर्ता गरेपछि पीडित र व्यवसायी श्रेष्ठबीच मिलापत्र

अष्ट्रेलियाको नक्कली भिसा प्रकरण : पैसा फिर्ता गरेपछि पीडित र व्यवसायी श्रेष्ठबीच मिलापत्र

काठमाडौं। यूएईको दुबईस्थित जीसीडी एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सीले अष्ट्रेलिया पठाइदिने भन्दै म्याग्दीका काजीमान बुढाथोकीबाट असुल गरेको ५ लाख रुपैयाँ फिर्ता दिएको छ।

नेपाल एसोसिएसन यूएईका अध्यक्ष समेत रहेका नेपाली व्यवसायी रमेश श्रेष्ठद्वारा सञ्चालित यो कन्सल्टेन्सीले बुढाथोकीलाई अष्ट्रेलियाको डार्बिन पोर्टमा रोजगारीको लागि पठाइदिने भनेर ५ लाख रुपैयाँ एडभान्स लिएको थियो।

कन्सल्टेन्सीले सन् २०२० को मध्यतिर उनलाई अष्ट्रेलियाको भिसा देखाएर उक्त रकम लिएको थियो। तर, कम्पनीले कोभिडको बाहाना बनाउँदै बुढाथोकीलाई अष्ट्रेलिया उडाउन सकेन्।

श्रेष्ठको कन्सल्टेन्सीले दुई वर्षसम्म पनि अष्ट्रेलिया नउडाएपछि बुढाथोकीले आफू ठगिएको महशुस गर्दै यूएईस्थित नेपाली संघसंस्थामा न्यायको लागि उजुरी गरेका थिए। यसबारेमा प्रवास खबरलगायत अन्य सञ्चारमाध्यमले समाचार छापेका थिए।

सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि श्रेष्ठले पीडित बुढाथोकीको पैसा फिर्ता गरेका छन्। २२ जनवरीमा दुबईस्थित कार्यालयमा दुबैपक्षबीच मिलापत्र भएको बताइएको छ।

‘आज २२ जनवरी २०२२ का दिन जीसीडीको अफिसमा बसेर रमेश श्रेष्ठ म बीच हिसाब मिलान गर्ने सहमति छ,’ मिलापत्रमा पीडित बुढाथोकीले भनेका छन्। सुवास राम्झाली, कुमार लम्साल र प्रकाश भण्डारीको रोहोबरमा सहमति भएको मिलापत्रमा उल्लेख छ।

यता कन्सल्टेन्सी सञ्चालक श्रेष्ठले भने भिसा नक्कली भएको भन्ने आरोपको खण्डन गर्दै आएका छन्। कोभिडको कारण बुढाथोकी अष्ट्रेलिया उड्न नपाएको श्रेष्ठ बताउँछन्।

‘हामी जिम्मेवार कम्पनी हो। किर्ते भिसा बनाएको भन्ने कुरा गलत हो । उहाँको भिसा आएको थियो, त्यतीबेला उहाँ आफैले भिसा चेक गर्नु भएको थियो,’ श्रेष्ठले भिसा सक्कली भएको दावी गर्दै प्रवास खबरसँग भने,‘कोभिडको कारण अष्ट्रेलियाले उडान प्रतिवन्ध लगायो। त्यसैले उहाँ जान पाउनु भएन। यसमा हाम्रो कुनै कमजोरी छैन्।’ भिसाको म्याद सकिएपछि अनलाइनमा त्यसको कुनै पनि रेकर्ड नहुने श्रेष्ठको दावी छ।

यो पनि पढ्नुहोस्

एनआरएनए यूएईका पूर्व अध्यक्ष श्रेष्ठको ठगी धन्दा, नक्कली भिसा बनाएर लाखौं असुली