एनआरएनए यूएईका पूर्व अध्यक्ष श्रेष्ठको ठगी धन्दा, नक्कली भिसा बनाएर लाखौं असुली

एनआरएनए यूएईका पूर्व अध्यक्ष श्रेष्ठको ठगी धन्दा, नक्कली भिसा बनाएर लाखौं असुली

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका पूर्व अध्यक्ष रमेश श्रेष्ठले दुबईबाट नेपाली युवाहरुलाई अष्ट्रेलिया पठाउँछु भन्दै लाखौं रकम ठगी गरेको खुलासा भएको छ।

दुबईमा श्रेष्ठले सञ्चालन गरेको जीसीडी एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सीले म्याग्दीका काजीमान बुढाथोकीलाई अष्ट्रेलिया पठाइदिने बाहानामा नक्कली अफर लेटर र भिसा बनाएर ५ लाख रुपैयाँ ठगी गरेको प्रमाण प्रवास खबरलाई प्राप्त भएको छ।

श्रेष्ठ नेपाल एसोसिएसन यूएईका अध्यक्ष समेत हुन्। दुबईको स्थानीय निकायमा दर्ता भएको यो संस्थाको काम त्यहाँ रहेका नेपाली समुदायलाई सहयोग र सेवा गर्नु हो। मानवीय सेवामा सर्मित भनेर स्थापित यो संस्थाका अध्यक्ष श्रेष्ठ भने पटक- पटक विवादमा आइरहने व्यक्ति हुन्।

पीडित बुढाथोकीले दुबईबाट प्रवास खबरलाई बताए अनुसार श्रेष्ठको कम्पनी जीसीडी एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सीले आफ्नो फेसबुक पेजमार्फत १५ जुन २०२० मा अष्ट्रेलियाको डार्बिन पोर्टमा ट्रली ब्वाय र ल्याण्ड पोर्टरको विज्ञापन निकालेको थियो।

‘काम सबै शतप्रतिशत हुने र तीन महिनामा काम हुने भएपछि मसहित ६ जनाले अप्लाइ गरेका थियौँ। जम्मा लागत ३६ हजार दिराम (नेपाली झण्डै साढे १२ लाख) भनिएको थियो,’ बुढाथोकीले भने।

श्रेष्ठको कम्पनी जीसीडी एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सीले निकालेको विज्ञापन

उनका अनुसार श्रेष्ठले सुरुमै ३ हजार दिराम लिएका थिए। त्यसपछि उनले पुन : ५ हजार मागेका थिए। ‘भिसा आइसकेपछि मात्रै आधा पैसा दिने शर्त थियो। हामिले नदिने अडान गरेपछि १९ सेप्टेम्बर २०२० मा ‘सब क्लास ९८८ म्यारीटाइम क्रु’मा भिसा आएको भनेर थप १० हजार दिराम मागियो,’ उनले भने, ‘अष्ट्रेलियाको भिसा लागेको देखाएपछि मैले रमेश श्रेष्ठले भने अनुसार नेपालमा ५ लाख रुपैयाँ हालेको थिएँ।’

बुढाथोकीले श्रेष्ठले भनेबमोजिम म्याग्दीको बेनीस्थित कुमारी विकास बैंकमा रहेको थक्कर कार्कीको नाममा ५ लाख रुपैयाँ जम्मा गराएका थिए। त्यसपछि भने श्रेष्ठले कोभिड संक्रमणले अष्ट्रेलिया बन्द भएको बाहाना बनाउँदै टार्न खोजिरहे।

श्रेष्ठले भनेबमोजिम बुढाथोकीले यसै खातामा रकम जम्मा गरेका थिए

त्यसो त २२ सेप्टम्बर २०२० मा श्रेष्ठले सञ्चालन गरेको कन्सल्टेन्सीले बुढाथोकीलाई कार्यालयमै बोलाएर भिसा प्राप्त गर्न सफल भएको भन्दै बधाई समेत दिएको छ। त्यत्तिबेला कन्सल्टेन्सीले फेसबुकमै फोटोसहित पोस्ट गरेको छ। अरुलाई आर्कषित गर्न बुढाथोकीको फोटो हालेर विज्ञापन गरेको देखिन्छ।

बुढाथोकीलाई भिसा प्राप्त सफल भएको भन्दै बधाई दिँदै कन्सल्टेन्सी

तर, रोचक कुरा के भने श्रेष्ठले अष्ट्रेलियाको भनेर बुढाथोकीलाई दिएको भिसा नक्कली भएको खुलेको छ। अष्ट्रेलियाको भिसा स्टाट्स चेक गर्ने आधिकारिक पोर्टलमा गएर हेर्दा उक्त भिसा नक्कली भएको पुष्टि हुन्छ।

तर, कन्सल्टेन्सी सञ्चालक श्रेष्ठको भने भिसा सक्कली नै भएको दावी छ। ‘त्यो भाइको कुरा म स्वीकार्छु। २०२० मा उहाँको भिसा आएको थियो। तर, कोभिडका कारण लकडाउन हुँदा जान पाउनु भएन,’ श्रेष्ठले प्रवास खबरसँग भने।

भिसा नक्कली भएको शंका लागेपछि काठमाडौंस्थित अष्ट्रेलियन दूतावासमा गएर चेक समेत गराएको बुढाथोकीको भनाइ छ। ‘मैले नेपालमा भएको अष्ट्रेलियन दूतावासमा चेक गर्नको लागि पठाएको थिएँ, नक्कली रहेछ,’ उनले भने।

बुढाथोकीले अष्ट्रेलिया पठाउन नसक्ने भए पैसा फिर्ता गरिदिन श्रेष्ठसँग माग राखेका थिए। श्रेष्ठले भने आफूले भिसा लगाइदिएको तर, कोभिडको कारणले अष्ट्रेलिया पठाउन नसकिएको भन्दै गैरजिम्मेवार जवाफ दिएका छन्।

बुढाथोकीलाई रमेशले दिएको जवाफ

‘मैले नगरेको हो र ? भिसा आएको होइन र हजुरको ? दूतावासमा जानुहोस् सोध्नलाई सर,’ श्रेष्ठले बुढाथोकिलाई म्यासेजमा भनेका छन्, ‘नो मोर प्रेसर मि।’

बुढाथोकीले अहिले न्याय पाउँ भन्दै यूएईस्थित एनआरएनए,नेपाली दूतावासलगायत त्यहाँका सामाजिक संघसंस्थामा उजुरी समेत दिएका छन्।



No ads found for this position