यूएईमा श्रमकानून उल्लंघन गर्नेलाई कडा कारवाही हुने

यूएईमा श्रमकानून उल्लंघन गर्नेलाई कडा कारवाही हुने सांकेतीक तस्वीर

दुबई। श्रमकानून उल्लंघन गर्नेलाई यूएई सरकारले कडा कारवाही गर्ने भएको छ। श्रम स्वीकृति नलिइ ‘भिजिट भिसा’मा काम गर्ने आप्रवासीलाई जेलसहित जरिवाना गरिने बताइएको छ।

दुबईको सार्वजनिक अभियोजनले एक पोष्ट सार्वजनिक गर्दै श्रम स्वीकृति (वर्क परमिट) नलिइ काम गरेमा कडा कारवाही गरिने चेतावनी दिएको हो। जसअनुसार तीन महिनाको जेलसहित १० हजार दिराम जरिवाना सजाय हुनेछ।

‘भिजिट भिसा’ अन्तर्गत यूएईमा प्रवेश गरी काम गर्न चाहने प्रत्येक विदेशीले यहाँका सक्षम अधिकारीबाट अनुमति लिनुपर्नेछ,’ सार्वजनिक अभियोजनले जारी गरेको सूचनामा भनिएको छ, ‘अन्यथा यस नियमको उल्लङ्घन गर्ने व्यक्तिलाई तीन महिनासम्मको जेल सजाय र १० हजार दिराम जरिवाना लाग्ने वा दुईमध्ये कुनै एउटा सजाय भोग्नुपर्नेछ।’

नियम उल्लंघन गर्नेलाई अदालतले देश निकाला गर्ने आदेश समेत दिन सक्ने बताइएको छ।

श्रम स्वीकृति कसरी प्राप्त गर्न सकिन्छ ?

तपाईं निजी, स्वतन्त्र, वा सार्वजनिक जुन क्षेत्र अन्तर्गतको कम्पनीमा काम गर्नुहुन्छ, सोहीअनुसार सम्बन्धित प्राधिकरणले वर्क परमिट जारी गर्दछ। निजी क्षेत्रका लागि सबै ‘वर्क परमिट’ मानव संसाधन र एमिरेटाइजेसन मन्त्रालयले जारी गरेको छ।

त्यस्तै, प्रत्येक स्वतन्त्र क्षेत्रलाई आफ्नो अधिकार क्षेत्रभित्रको श्रमसम्झौता, रोजगारदाता र श्रमिकबीचको सम्बन्धलाई नियमन गर्ने अधिकार रहन्छ।

जुनसुकै क्षेत्राधिकार अन्तर्गत पर्ने कुनै पनि संस्थामा काम सुरु गर्दा श्रमिकले वैध ‘वर्क परमिट’ (श्रम स्वीकृति) छ भन्ने अनिवार्य रुपमा सुनिश्चित गर्नुपर्ने बताइएको छ।