सुदूरपश्चिम क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रदेश सरकारको आग्रह

सुदूरपश्चिम क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रदेश सरकारको आग्रह

धनगढी। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेट गरेको छ।

धनगढीस्थित मुख्यमन्त्रीको कार्यालयमा भएको भेटमा सुदूरपश्चिम क्षेत्रमा लगानी र पर्यटनका सम्भावनाबारे छलफल भएको हो।

भेटमा मन्त्री भट्टले सूदू्रपश्चिम अथाह सम्भावना रहेको क्षेत्र भएको बताउँदै गैरआवासीय नेपालीलाई लगानी गर्न आग्रह गरे।

‘लगानीका लागि असीमित सम्भावना छन्। ढुक्क भएर लगानीका लागि आउनुहोस्, नाफा सुनिश्चित छ,’ मन्त्री भट्टले भने । लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उनले बताए।

यस्तै अर्थमन्त्री तारा लामा तामाङले देशलाई संकट आइपर्दा एनआरएनएले विभिन्न समयमा पुर्‍याएको सहयोगको स्मरण गर्दै धन्यावाद दिए।  संघले शहर केन्द्रीत मात्र नभइ दुर्गम क्षेत्रमा पनि काम गर्नुपर्ने सुझाव उनकाे छ।

‘तपाईंहरुले देश–विदेशका नेपालीलाई पुर्‍याउँदै आएको सहयोग म उच्च सम्मान गर्छु। एनआरएनए जस्तो गरिमामय संस्थाको सहयोग ग्रामिण क्षेत्रमा पनि खाँचो छ। तपाईँहरु अब गाउँ–गाउँमा आउनुपर्छ।’ मन्त्री तामाङले लगानी सुरक्षा र नाफाको सुनिश्चितता गर्न प्रदेश सरकार प्रतिवद्धता रहेको दोर्‍याउँदै खुला हृदयले लगानी लिएर आउन आह्वान गरे।

यसैगरी भौतिकमन्त्री दीर्घ बहादुर सोडारीले सुदू्रपश्मि क्षेत्रमा विदेशी लगानी भित्र्याउन प्रदेश र एनआरएनबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

जलविद्युत्, भौतिक पूर्वाधार र पर्यटनलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको औंल्याउँदै मन्त्री सोडारीले भने,‘यहाँ लगानी गरेर प्रशस्त आम्दानी गर्ने ठाउँ छन्। लगानी सुरक्षित गर्न प्रदेश सरकार र यहाँका जनाता तपाईँहरुको साथमा छौँ।’

छलफलमा संघका अध्यक्ष पन्तले सुदूरपश्चिम क्षेत्रमा आफूहरुले अहिलेसम्म मानवीय सेवा पुर्‍याउँदै आएको स्मरण गर्दै आगामी दिनमा यहाँको विकास निर्माण र पर्यटन प्रर्वद्धनमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।

यस्तै पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछानेले सुदूरपश्चिम क्षेत्रमा पर्यटनको व्यापक सम्भावना देखेको बताउँदै आफूहरुले त्यसतर्फ अध्ययन गरिरहेको बताए।

भेटमा एनआरएनएका उपाध्यक्ष डा बद्री केसी, महासचिव डा.हेम राज शर्मा, प्रवक्ता डिवी क्षेत्री, सल्लाहकार कुल आर्चाय, मानार्थ सदस्य धर्मराज अधिकारी र शनिकुमार ओली र सहभागि थिए।