पूर्ण लकडाउनमा नजाने यूएईको नीति

पूर्ण लकडाउनमा नजाने यूएईको नीति

दुबई । अब यूएई पूर्ण लकडाउनमा नजाने भएको छ।

यूएईका वैदेशिक व्यापार राज्यमन्त्री डा.थानी अल–जेउदीले यूएई अब पूर्ण लकडाउनमा नफर्कने बताएका छन्। उनले ओमिक्रोन डेल्टा भेरियन्टभन्दा कम प्रभावकारी भएको उनकाे भनाइ छ।

यूएईले अर्थतन्त्र र स्वास्थ्य क्षेत्रहरुबीच सन्तुलन कायम राख्न सकेको कारणले डेल्टा भेरियन्टको समयमा लकडाउन नगरिने स्पष्ट पारेका हुन्। उनले स्थानीय सञ्चार माध्यमसँग भनेका छन्, ‘कोभिडको विषयलाई लिएर विभिन्न किसिमका भविष्यवाणी भएता पनि हामी अब देशमा पूर्ण लकडाउनको अवस्थामा फर्कने छैनौं।’

२०२० को सुरुमा महामारी फैलिएपछि यूएईमा लकडाउन र यात्रा प्रतिबन्धको घोषणा गरिएको थियो। तर, देशमा कडा सुरक्षा र सावधानी अपनाएर पुनः खोल्ने यो पहिलो देश हो।

मन्त्री अल–जेउदीले २०२१ अर्थतन्त्रका लागि महत्वपूर्ण, उत्साहजनक र सकारात्मक रहेको र २०२२ पनि उत्साहजनक एवम् सफल रहने अपेक्षाका साथ सुरु भएको बताएका छन्।

‘हामीले २०२१ मा हाम्रो स्वर्ण जयन्ती मनायौं र एक्स्पो–२०२० मा विश्वलाई स्वागत गर्यौं,’ मन्त्रीले भने, ‘हामीले विश्वलाई लकडाउन् जारी राख्न नसक्ने कुरा देखायौं।’ उनले जारी गरिएका मापदण्डको पालना गर्नुपर्ने कुरामा जोड दिँदै स्वास्थ्य र अर्थव्यवस्थाबीच सन्तुलन सुनिश्चित गर्नुपर्ने आवश्यकता भएको बताए।

यसविषयमा मन्त्रीले यूएईस्थित समुदाय जतिसक्दो चाँडो मापदण्डमा फर्कने र महामारी जस्ता विश्वव्यापी चुनौतीहरूको सामना गर्नसक्ने बताएका छन्। त्यस्तै, दैनिक रुपमा कोभिड–१९ को परीक्षण गर्ने क्रमलाई निरन्तरता दिएको र सबैलाई खोपको बुस्टर डोज (मात्रा) लगाउन प्रेरित गरेको समेत उनले बताएका छन्।