राम्रो जागिर पाइने लोभमा भइरहेको काम नछोड्न दूतावासको आग्रह

राम्रो जागिर पाइने लोभमा भइरहेको काम नछोड्न दूतावासको आग्रह

रियाद। साउदी अरबको रियादस्थित नेपाली दूतावासले राम्रो जागिर पाइने लोभमा भइरहेको काम नछोड्न आग्रह गरेको छ। पछिल्लो समय केही नेपाली बिचौलीयाहरुले श्रमिकलाई सम्पर्क गरी आकर्षक रोजगारीको प्रलोभन देखाएर ठग्ने गरेका गुनासो बढेपछि दूतावासले सचेत रहन आग्रह गरेको हो।

भर्खरै आवासीय अनुमतिपत्र (इकामा) बनाएका श्रमिकलाई उनीहरुले खाइपाइ आएको तलबभन्दा बढी दिने प्रलोभन देखाइ रोजगारी छोड्न प्रेरित गर्ने गरेको पाइएको दूतावासले जनाएको छ। यसरी कम्पनी छोडेर भाग्नु गैरकानूनी भएको जनाउँदै लोभमा परी त्यसो नर्गन दूतावासले आग्रह गरेको छ।

‘कम्पनी छोडेर भाग्नु गैरकानूनी र अनैतिक हो भने त्यस्ता कामदार भगाउनु अपराध हो,’ दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ। यस्ता किसिमिका अवैध क्रियाकलापबाट साउदी अरबका रोजगारदाताले नेपालीलाई हेर्ने दृष्टिकोण नै फरक हुन थालेको दूतावासको भनाइ छ ।

यसरी एउटा कम्पनीको परिचयपत्र (इकामा) लिएर भाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कामदारलाई सचेत गराइदिन साउदीका सम्बन्धित अधिकारीले दूतवासलाई अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ।

कामदार भगाउनेलाई साउदीले मानब तस्करीको अपराधमा हेर्ने र यस्ता व्यक्तिहरुको साउदीका अधिकारीले सूक्ष्म हिसाबले खोजी गरिरहेको बताउँदै सचेत रहन दूतावासले आग्रह गरेको छ।

यस्तै यस्ता किसिममा अपराधमा संग्लन व्यक्तिबारे भरपर्दाे सूचना भएमा नजिकको प्रहरी वा दूतावासमा जानकारी गराइ सहगोग गरिदिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

यसैगरी अवैध रुपमा काम गर्दा बिरामी पर्दा सहयोग नपाइने, दुर्घटना भइ घाइते भएमा उपचार र क्षत्तिपूर्ती नपाइने तथा केही गरी ज्यान गएमा नेपालमा शव समेत पठाउन गाह्रो हुने बताउँदै क्षणिक प्रलोभनमा परी गरिरहेको काम नछोड्न दूतावासले सचेत समेत गराएको छ।

प्रवास खबरलाई प्राप्त जानकारी अनुसार पछिल्लो समय साउदीमा एजेण्टहरुले विभिन्न लोभ देखाइ श्रमिकलाई गर्दै आएको कम्पनीबाट भगाउने र पछि आफूहरुले काममा लगाउने प्रवृत्ति बढेको छ। यसरी भागेर काम गर्दा श्रमिक झन जोखिममा पर्ने गरेका छन्।

‘राम्रो काम पाइने लोभमा कम्पनी छोडेका हुन्छन्।यसरी भाग्नेलाई दलालले आफै काममा लगाउँछन्। एक पैसा नदिइ नि : शुल्क काम गराउँछन्,’ श्रोतले भन्छन्, ‘तलब माग्दा उल्टै गाली गरेर प्रहरी बोलाइदिन्छुभन्ने डर धम्की दिने गर्छन्। यसरी दलालको चक्करमा परेर धेरै श्रमिक अलपत्र परेका छन्।’