ठेगाना र आफन्तबारे थाहा नहुँदा हङकङको अस्पतालमा गुरुङको शव अलपत्र

ठेगाना र आफन्तबारे थाहा नहुँदा हङकङको अस्पतालमा गुरुङको शव अलपत्र

हङकङ । नेपालको ठेगाना र आफन्त पत्तो नलाग्दा हङकङमा एक नेपालीको शव अलपत्र परेको छ। अन्दाजी ५१ वर्षीय सुशील गुरुङ नाम गरेका व्यक्तिको नेपालको ठेगाना र आफन्त थाहा नहुँदा शव व्यवस्थापनमा समस्या भएको हो।

हङकङस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार गुरुङको गत २० डिसेम्बरमा स्थानीय क्विन एलिजाबेथ हस्पिटलमा मृत्यु भएको थियो। उनको थप विवरण उपलब्ध हुन सकेको छैन। उनी शरणार्थीको रुपमा हङकङमा रहेको महावाणिज्य दूतावासले जनाएको छ।

नेपालको ठेगाना पत्तो नलाग्दा शव व्यवस्थापनमा कठिनाइ भएपछि महावाणिज्य दूतावासले गुरुङको फोटो सार्वजानिक गरेर आफन्तको खोजी सुरु गरेको छ।

उनलाई चिन्ने व्यक्तिलाई  २३६९७८१३ मा सम्पर्क गर्न महावाणिज्य दूतावासले आग्रह गरेको छ।

यता हङकङस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष गोकर्ण ढकालले भने अहिले मृतकका दाई सम्पर्कमा आइसकेको आफूले जानकारी पाएको प्रवास खबरलाई बताए। ‘दाई सम्पर्कमा आउनु भएको भन्ने जानकारी पाएको छु। बाँकी केही सोधपुछको क्रममा छौँ,’ उनले भने।