विदेश जाने महिलालाई परिवार वा स्थानीय निकायको सिफारिस चाहिने निर्णय भएको छैन : अध्यागमन विभाग

विदेश जाने महिलालाई परिवार वा स्थानीय निकायको सिफारिस चाहिने निर्णय भएको छैन : अध्यागमन विभाग File Photo

काठमाडौं । अध्यागमन विभागले पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरू भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्नेगरी निर्णय हुन लागेको भन्ने संञ्चारमाध्यममा समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राकोबारे सामान्य जानकारी समेत नभएका महिलाहरूका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानबिन कार्यदलका सुझावहरूका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको भन्दै भ्रममा नपर्न आग्रह गरेको हाे।

‘यस्ता सार्वजनिक सरोकारका विषयहरुमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र कार्यान्वयन सहजता समेत हेरी नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने व्यहोरा समेत सबैमा जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।