‘कतार विश्वकप श्रमिकको रगतले लत्पतिएको छ’

‘कतार विश्वकप श्रमिकको रगतले लत्पतिएको छ’ फाइल फोटो

काठमाडौं। कतार विश्वकप फुटबल प्रतियोगिताको संघारमा छ। अन्तराष्ट्रिय संचारमाध्यम तथा मानवअधिकारवादी संस्थाहरुले भने कतार सरकारको आलोचना गर्न छाडेका छैनन्।

रंगशाला निर्माणमा खटिएका श्रमिकको मृत्यु नरोकिएपछि कतार सरकार आलोचित बनेको हो। काम गर्ने कमजोर शैलीका कारण निर्माणाधीन रंगशालामा श्रमिकको ज्यान गइरहेको तर, कतार सरकार र विश्वकप आयोजक समिति भने मौन रहेको आरोप लागेको छ।

बेलायती दैनिक पत्रिका ‘डेलीमेल’का अनुसार रंगशाला निर्माणमा खटिएका श्रमिकमध्ये साढे ६ हजारभन्दा बढी विदेशी आप्रवासी श्रमिकले हालसम्म ज्यान गुमाइसकेका छन्। डेलीमेले भनेको छ,‘विश्वकप श्रमिकको रगतले लत्पतिएको छ।’ यसमा कतार सरकार र फिफा बेखबर रहेको ‘डेलीमेल’को रिपोर्टमा उल्लेख छ।

मध्यपूर्वको इतिहासमै पहिलो पटक आगामी नोभेम्बरमा कतारमा विश्वकप हुँदैछ। प्रतियोगिता राजधानी दोहा नजिकै रहेका ८ वटा रंगशालामा हुँदैछ। यी रंगशाला कतिपय बनिसकेका छन् भने केही अन्तिम अवस्थामा छन्। जहाँ लाखौं आप्रवासी श्रमिकले काम गरिरहेका छन्।

त्यति मात्रै होइन, आवास सुविधा, सडक, सञ्चार सुविधा, खानेपानी तथा ढल निकास जस्ता पूर्वाधार निर्माणको काम पनि एकै समयमा भइरहेकाले कतारमा निर्माणको दायरा व्यापक छ।

यहाँ कार्यरत श्रमिकहरुमध्ये अधिकांश विदेशी छन्। नेपालसहित, भारत, बंगलादेश,श्रीलंका र पाकिस्तानलगायत देशका श्रमिकहरू फिल्डमा खटिरहेका छन्।

कतारको चर्को गर्मी तथा हावापानीमा गर्नुपर्ने कडा शारीरिक परिश्रमका कारण हालसम्म साढे ६ हजारभन्दा बढी श्रमिकले ज्यान गुमाएको बताइएको छ।

‘श्रमिक पिउने पानी, प्रशस्त आराम र उचित ओछ्यान बिना चर्को घाममा काम गरिरहेका छन्,’ डेली मेलको रिपोर्टमा भनिएको छ। रंगशाला निर्माणको क्रममा भएका जोखिमपूर्ण दुर्घटनाको छुट्टै तथ्यांक सङ्कलन गरिएको छैन। यस्तै शारीरिक परीक्षण पास भएका स्वस्थ श्रमिकले कार्यस्थलमा अचानक ज्यान गुमाउने अवस्था आउँदा पनिे त्यसबारे कसैले सोधखोज नगर्ने  उल्लेख छ ।

कतार सरकार र खेल आयोजक समिति मौन रहेको भन्दै मानवअधिकारवादी संस्थाले फिफामा ध्यानाकर्षण गराउँदै आएका छन्। फिफासँग हरेक विश्वकपको लागि ३ बिलियन युरो रहेको बताइन्छ। उच्च नाफा भए पनि विश्वकपको गरिमा श्रमिकको रगतले भरिएको मानवअधिकारवादी संस्थाको आरोप छ।

विश्वकपको तयारीका क्रममा कतारमा श्रम शोषणको मुद्दा उठेको यो पहिलो पटक भने होइन । ‘विश्व कप रंगशाला निर्माणमा कतारमा काम गरिरहेका विदेशी श्रमिकहरूले प्रतिकूल वातावरण र जीवनलाई जोखिममा पार्दै काम गरिरहेका छन्,’ इन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेसनले भनेको छ ।कम पारिश्रमिक र कर्पोरेट सुरक्षाको असंवेदनशीलताले श्रमिकलाई चोटपटक र मृत्युको डर रहेको बताइएको छ।

केही समयअघि एमनेस्टी इन्टरनेशनलले पनि एक दशकयता कतारमा मृत्युवरण गरेका हजारौं आप्रवासी श्रमिकको मृत्युको अनुसन्धान गर्न कतार असफल भएको रिपोर्ट सार्वजनिक गरेको थियो। असुरक्षाका बीच काम गर्ने ठाउँमा अकालमा ज्यान गुमाएको प्रमाण हुँदाहुँदै कतारी अधिकारी अनुसन्धान गर्न असफल भएकोमा एमनेस्टीले चिन्ता व्यक्त गरेको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दबाबमा कतार सरकारले श्रमिक सुरक्षामा केही सुधार गरेको बताएको थियो। उसले श्रमिकको सुरक्षाका लागि केही नियम पनि सार्वजनिक गरेको थियो। तर, यति हुँदा पनि जोखिम यथावत रहेको आरोप कतारमाथि लाग्दै आएको छ।