साउदीबाट आउँदैछु भनेर श्रीमतीलाई विमानस्थल बोलाएका श्रीमान् एकाएक सम्पर्कविहीन

साउदीबाट आउँदैछु भनेर श्रीमतीलाई विमानस्थल बोलाएका श्रीमान् एकाएक सम्पर्कविहीन

काठमाडौं । गत पुष १८ गते आइतबार । उदयपुरकी मुना थापा बेलुका ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा पुगिन्। मुना साउदीबाट फर्किदैं गरेका आफ्ना श्रीमान्लाई स्वागत गर्न खुशी हुँदै त्यहाँ पुगेकी थिइन्।

२९ वर्षीय ध्रुव भनिने पेशल खत्री (मुनाका श्रीमान्) झण्डै एक वर्षको साउदी बसाइपछि नेपाल आउँदै थिए। श्रीमतीलाई काठमाडौं ध्रुवले नै बोलाएका थिए।

श्रीमान्लाई विमानस्थलमै स्वागत गर्ने तयारीका साथ मुना उदयपुरको गाईघाटबाट काठमाडौँ आएकी थिइन्। तर, ध्रुब भने आएनन् । ध्रुवले रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट आफू उड्दै गरेको मुनालाई बताएका थिए।

‘१८ गते राती ९ बजे नेपाल आइपुग्छु भनेपछि म एयरपोर्टमा लिन गएकी थिएँ,’ मुनाले प्रवास खबरसँग पर्खाइको पीडादायी क्षण सुनाउँदै भनिन्, ‘राती एक बजेसम्म विमानस्थलमा कुरेर बसेकी थिएँ, तर उहाँ आउनु भएन ।’

त्यो दिनदेखि ध्रुवको मोबाइल नम्बर पनि स्वीच अफ छ । उनी साउदीबाट उडे कि उडेनन् ? नेपाल आए कि आएनन् ? केही पत्तो छैन।

श्रीमान् कुरिरहेकी मुना भारी मन लिएर विमानस्थलबाट फर्किइन् । त्यसको केही दिनपछि पनि श्रीमान्को खबर नपाएकी उनी उदयपुर फर्किइन्।

ध्रुव साँच्चिकै त्यो दिन रियादको विमानस्थलमा पुगे वा उनले श्रीमतीलाई झुट बोले ? केही खुलेको छैन।

यसअघि ध्रुवले आफू बिरामी परेकोले साउदीमा काम गर्न नसक्ने कुरा बताउने गरेका थिए।

‘जहिले पनि उहाँले म बिरामी छु, काम गर्न सक्दिन नेपाल आउँछु भन्नु हुन्थ्यो । कम्पनीमा काम समेत छोड्नु भएको थियो रे,’ मुनाले श्रीमान्को बाध्यता सुनाउँदै भनिन्, ‘बिरामी भए आउनुस् न त भनेर बोलाएका थियौँ । तर, आउँछु भनेर किन आउनु भएन, केही पत्तो छैन।’

ध्रुव ‘डिप्रेसन’को बिरामी भएको हुन सक्ने मुनाको आशंका छ । हालसम्म पनि सम्पर्कमा नआएपछि मुनाले रियादस्थित नेपाली दूतावासदेखि एनआरएनएसम्मलाई श्रीमान्को खोजी गरिदिन अपील गरेकी छिन।

मुना घरमा एक छोरा र छोरीका साथ श्रीमान् आउने बाटो हेरेर बसिरहेकी छिन।