युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको प्राथमिकता छ : श्रममन्त्री

युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको प्राथमिकता छ : श्रममन्त्री फाइल फोटो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको प्राथमिकता रहेको बताएका छन्। सरसफाइ अभियन्ता नमस्तेलाल भुमि श्रेष्ठको पुस्तक ‘सकारात्मक सोंच, खोज र रोजुको विमोचन गर्दै मन्त्री श्रेष्ठले सकारात्मक सोचका साथ मुलुकको विकास र समृद्धि अभियानमा लाग्न आग्रह गरे। धेरै ठूलो त्याग, तपस्या र बलिदानबाट अहिलेको राजनीतिक प्रणाली स्थापित भएको चर्चा गर्दै उनले अबको एउटै लक्ष्य मुलुकको समृद्धि भएको बताए।

देशभित्र रोजगारीको अवसर सिर्जना गर्ने तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र बढी उपलब्धिमुलक बनाउने योजना सरकारले अघि बढाएको उनले बताए। उद्यमशीलता विकास, सीप विकास तालिम जस्ता योजनामार्फत युवालाई नेपालमा नै अवसर प्रदान गर्ने सरकारको प्राथमिकता रहेको उनले बताए।

वैदेशिक रोजगारीमा गएका युवाहरुले विदेशमा सिकेको सीप र अनुभवको भरपुर सदुपयोग गर्न पुनर्एकीकरणको योजना अघि बढाएको बताउँदै उनले नेपाललाई बलियो र आर्थिक रूपमा सम्पन्न बनाउनुपर्ने बताउनुभयो । देशलाई विकसित गर्ने र आधुनिक राष्ट्रको निर्माण गर्न सकारात्मक सोंचका साथ अघि बढ्न उनले आग्रह गरे।

कार्यक्रमका वक्ताहरुले तनहुँको बन्दिपुरमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाइ भाषा, संस्कृति, सामुदायिक विकास, खानेपानी तथा सरसफाइको क्षेत्रमा सरसफाइविज्ञ नमस्तेलाल भूमि श्रेष्ठले पुर्याउनुभएको योगदानको चर्चा गरेका थिए।

श्रेष्ठले विद्यालय सरसफाइ कार्यक्रम, सरसफाइ महोत्सव, हातधुने अभियान, खुला दिशामुक्त अभियान जस्ता राष्ट्रिय स्तरका सरसफाइ अभियानमा नेतृत्वदायी भुमिका खेल्नुभएको छ । सरसफाइ र सामाजिक सेवाको यात्रामा आफुले सिकेका र अनुभुति गरेका बिषयहरु समेटेर श्रेष्ठले ‘सकारात्मक सोंच, खोज र रोज’ पुस्तक लेखेका छन् ।