एक वर्षमा साढे २ लाखभन्दा बढी आप्रावासी श्रमिकले कुवेत छोडे, श्रम बजारमा नकरात्मक असर

एक वर्षमा साढे २ लाखभन्दा बढी आप्रावासी श्रमिकले कुवेत छोडे, श्रम बजारमा नकरात्मक असर

कुवेत सिटी । एक वर्षको अवधिमा साढे २ लाखभन्दा बढी आप्रवासी श्रमिक कुवेत छोडेर बाहिरिएका छन्। सन् २०२१ मा साढे २ लाखभन्दा बढी आप्रवासी श्रमिकले स्थायी रुपमा कुवेतको बसाइ छोडेका हुन्।

जनसंख्याकीय संरचना परिमार्जन र राज्यका निकायमा कुवेतीकरण गर्ने योजना कार्यान्वयन गर्ने प्रयास जारी रहँदा धैरै आप्रवासी श्रमिक रोजगारी छोडेर बाहिरिएका हुन्। कुवेती सञ्चारमाध्यमका अनुसार तीमध्ये २ लाख ५० हजार निजी क्षेत्रका र ७ हजार श्रमिक सरकारी निकायहरुअन्तर्गतका हुन्।

नागरिक सूचनाका लागि सार्वजनिक प्राधिकरण (पीएसीआइ) र श्रमबजार प्रणालीले हालै जारी गरेको सरकारी प्रतिवेदनअनुसार त्यसरी कुवेत छोड्ने श्रमिकमा सबैभन्दा बढी निजी क्षेत्रका थिए। त्यसपछि पारिवारिक क्षेत्रका घरेलु कामदार छन्। जसअनुसार २०२१ मा जम्मा ४१ हजार २ सय घरेलु श्रमिकले कुवेत छोडेको प्रतिवेदनमा उल्लेख छ।

अर्कोतर्फ वितेको एक वर्षमा कुवेतको श्रम बजारमा २३ हजार नयाँ श्रमिक थपिएका छन्। जसमध्ये अधिकांश सरकारी निकायमा रहेको तथ्यांकले देखाउँछ । प्रतिवेदनअनुसार कुवेतको श्रम बजारमा कुल २७ लाख श्रमिक कार्यरत छन्। तीमध्ये स्थानीय (कुवेती) ले मात्रै १६.२ प्रतिशत हिस्सा ओगटेका छन्।

कुवेतको श्रमबजारमा कार्यरत आप्रवासी श्रमिकमध्ये घरेलु क्षेत्रमा काम गर्ने श्रमिकको हिस्सा ठूलो छ। प्रतिवेदनअनुसार ६ लाख ३९ हजार विदेशी घरेलु क्षेत्रमा कार्यरत छन्, जुन कुल श्रमशक्तिको २२.८ प्रतिशत हो।

कोभिड–१९ महामारी र वैदेशिक रोजगारीको लागि अन्य देशबाट आउने श्रमिकको नियुक्ति स्थगित भएका कारण हाल कुवेतको श्रम बजारमा व्यवसायिक विशेषज्ञताको ठूलो अभाव देखिएको प्रतिवेदनमा उल्लेख छ ।

निजी क्षेत्रले रोजगारीमा श्रमिकको अभावको सामना गरेको छ । र, देशका सरोकारवाला निकायले रोजगारीमा उनीहरूको शैक्षिक स्तरसँग मिल्ने राष्ट्रिय श्रम आकर्षित गर्न नसकेको उल्लेख छ। सरकारी क्षेत्रमा रोजगारीको माग अहिले पनि सबैभन्दा बढी छ । जारी प्रतिवेदनमा २१ हजार नागरिकले रोजगारी खोज्न नाम दर्ता गराएका छन्। तीमध्ये ४८.३ प्रतिशत निजी क्षेत्रमा जान इच्छुक रहेको देखिएको छ।

त्यस्तै, यहाँ व्यावसायिक श्रमको अभावले भवन तथा निर्माण, कृषि, मत्स्य, सरसफाइ, सार्वजनिक सेवा, पत्रकारिता र टाइपिस्टका क्षेत्रमा नकारात्मक असर परेको प्रतिवेदनमा जनाइएको छ।

श्रमिकको दैनिक ज्याला कोभिड–१९ महामारीभन्दा अघि प्रतिदिन १० देखि १५ कुवेती दिराम थियो । हाल सो रकम २५ कुवेती दिरामभन्दा बढी भएको छ।