कुवेतमा कोभिड संक्रमणदर ह्वात्तै बढ्यो, सावधानी अपनाउन दूतावासको आग्रह

कुवेत सिटी । पछिल्लो समय संक्रमणदर दिनहुँ बढ्न थालेपछि कुवेत सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ जनवरीदेखि २८ फेब्रुरीसम्म सबै भित्री सामाजिक जमघटमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
यसैगरी कुवेत प्रवेश गर्ने सबै यात्रुको साथमा यात्रा गर्नु पूर्व ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने छ।
यस्तै कोभिडविरुद्धको खोप लगाइसकेका व्यक्तिलाई ‘बुस्टर डोज’ छिट्टै लगाउन समेत कुवेत सरकारले अनुरोध गरेको छ।
संक्रमण तीव्र गतिमा फैलिन थालेपछि कुवेत सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गरेको हो । सोमबार मात्रै ९८२ जनामा संक्रमण पुष्टि भएको थियो। हाल कुवेतमा संक्रिय संक्रमितको संख्या झण्डै ४ हजार ८ सय रहेको छ ।
यस्तै संक्रमण बढ्न थालेपछि कुवेतस्थित नेपाली दूतावासले यहाँ कार्यरत नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मंगलबार दूतावासद्वारा जारी सूचनामा भनिएको छ,‘बढ्दो संक्रमणबाट जोगिन स्थानीय सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गरी उच्च स्वास्थ्य सुरक्षा एवं सतर्कता अपनाउनु हुन यस दूतावास कुवेतस्थित नेपाली समुदायलाई हार्दिक अनुरोध गर्दछ । ’
कोभिड संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्ने, भिडभाडमा नजाने र भिडभाड नगर्ने, मास्क तथा पन्जाको प्रयोग गर्ने, शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्ने, साबुन पानीले पटक पटक हात धुने र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएको खण्डमा रुघाखोकी, ज्वरोजस्ता कोरोनाका लक्षणहरू देखा परेमा नजिकैको स्वास्थ्य केन्द्र र अस्पतालमा तुरुन्तै सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।
ताजा अपडेट

आजबाट आईपीएल सुरु

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

श्रम स्वीकृति अब स्थानीय तहबाटै

४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए
