नेपाली श्रमिकको प्रशंसा गर्दै यूएईका राजकुमारले भने– एकदमै इमान्दार हुन्छन्

नेपाली श्रमिकको प्रशंसा गर्दै यूएईका राजकुमारले भने– एकदमै इमान्दार हुन्छन् तस्वीर : एजेन्सी

काठामाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार मोहम्मद विन जायद अल नाहायान र त्यहाँस्थित नेपाली राजदूत कृष्ण प्रसाद ढकालबीच शिष्टचार भेटवार्ता भएको छ।

दुईदिन अघि राजकुमार अल नाहायानले आफ्नो मजलिसमा राजदूत ढकाललाई निम्तो दिएका थिए । भेटमा उनले यूएईमा कार्यरत नेपालीहरुको प्रशंसा गर्दै सम्मान व्यक्त गरेका थिए।

‘यूएईमा रहेका नेपालीप्रति उहाँ (राजकुमार) एकदमै सकारात्मक हुनुहुँदो रहेछ। उहाँले यूएईको विकास निर्माणमा नेपाली श्रमिकले पुर्‍याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्नुभयो,’ राजदूत ढकालले प्रवास खबरलाई टेलिफोनमार्फत जानकारी दिँदै भने ।

भेटमा राजकुमार अल नाहायानले नेपाली श्रमिकको इमान्दारीताबाट आफू प्रभावित भएको बताएका थिए। यस्तै उनले नेपाली श्रमिकलाई परेका समस्या समाधान गर्न यूएई सरकार तत्पर रहेको बताउँदै अप्ठ्यारो अवस्थामा आएमा सिधै आफूलाई जानकारी गराउन आग्रह गरेका थिए।

‘नेपाली एकदमै ‘अनेस्ट’ (इमान्दार) हुनेहुँदा आफू प्रभावित भएको बताउनु भयो,’ राजदूत ढकालले भने,‘नेपाल र नेपालीलाई समस्या पर्दा साथ दिन आफू र यूएई सकार सदैव तयार रहेको  बताउनु भएकाे छ।’ त्यहाँ कार्यरत नेपालीलगायत सम्पूर्ण आप्रवासी श्रमिकको अधिकार र रोजगारी सुरक्षाका विषयमा यूएई सरकार गम्भिर रहेको उनकाे भनाइ थियाे।

भेटमा राजदूत ढकालले राजकुमार अल नाहायानले नेपालीप्रति देखाएको सद्भाव र सम्मानको लागि आभार प्रकट गरे। यस्तै कोभिड महामारीसँग जुध्न यूएई सरकारले नेपाललाई स्वास्थ सामाग्री उपलब्ध गराएकोमा धन्यवाद समेत दिएका थिए।

यूएई सशस्त्र बलका साहयक सर्वोच्च कमाण्डर समेत रहेका राजकुमार अल नाहायानले सन् २०१४ को जनवरीदेखि शासकीय बागडोर समाल्दै आएका छन्।



No ads found for this position