माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध photo rss

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुन : पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन्। ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित भएको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए।

प्रचण्डलाई पार्टी अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेता नारायणकाजी श्रेष्ठ र समर्थन नेता कृष्णबहादुर महराले गरेका थिए। नेता श्रेष्ठको प्रस्ताव र नेता महराको समर्थनलाई केन्द्रीय समितिका सदस्यले सर्वसम्मत स्वीकृत गरेका थिए। अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि प्रचण्डले केन्द्रीय समिति बैठकलाई सम्बोधन गरिरहेका छन्।

नवर्निवाचित केन्द्रीय सदस्यहरूको शपथसँगै माओवादीको केन्द्रीय समितिको बैठक चलिरहेको छ । बैठकले अध्यक्षबाहेकको पदाधिकारीको टुङ्गो लगाउने बताइएको छ । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ।