कतारमा कोभिड संक्रमण फेरि बढ्यो, विरामी घरमै आइसोलेशनमा बस्नुपर्ने

कतारमा कोभिड संक्रमण फेरि बढ्यो, विरामी घरमै आइसोलेशनमा बस्नुपर्ने

दोहा । पछिल्लो केहीदिन यता कतारमा कोभिड–१९ को ‘ओमिक्रोन’भेरियन्टको संक्रमण तीव्र रूपमा फैलिएको छ। आइतबार मात्रै ९९८ जना नयाँ संक्रमित थपिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आउँदा दिनहरुमा संक्रमण थप बढ्ने स्वास्थ्य अधिकारीको आँकलन छ। संक्रमणले व्यापक रुप लिने सम्भावना बढेपछि सामान्य लक्षण देखिएका विरामीलाई घरमै आइसोलेशनमा बस्न आग्रह गरिएको छ। ‘ओमिक्रोन’भेरियन्टबाट संक्रमित विरामीमा सामान्यदेखि मध्यम किसिमका लक्षण देखिने र चिकित्सकिय उपचारको आवश्यकता नपर्ने बताइएको छ।

हमाद मेडिकल कर्पोरेशनका सरुवा रोग केन्द्रका मेडिकल डाइरेक्टर डा.मुना अल– मस्लामानीले कोभिड परीक्षण गर्दा ‘पोजेटिभ’ रिपोर्ट आएपनि १० दिनसम्म घरमै छुट्टै (आइसोलेशन) बस्नु सुरक्षित र उपयुक्त हुने बताएकी छिन्। अधिकांश संक्रमितमा कुनै गम्भीर किसिमको लक्षण नदेखिने, सामान्यदेखि मध्यम किसिमका लक्षणहरु मात्र देखिने भएको हुनाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

पहिलो पाँच दिन :

–घरमा आफ्नै कोठामा अलग बस्ने र परिवारका सदस्यसहित अन्य मानिसहरूसँग सम्पर्कमा नआउने।

पछिल्लो पाँच दिन :

–आफ्नो कोठा छोडेर बाहिर निस्कन पाइनेछ। तर, अन्य व्यक्तिको वरपर हुँदा जतिबेला पनि मास्कको प्रयोग गर्नुपर्नेछ।

त्यसैगरी घरमै आइसोलेशनमा बसेका बिरामीलाई कुनै सहयोग चाहिएमा होम आइसोलेशन सेवाको नम्बर १६००० मा चौबिसै घण्टा सम्पर्क गर्न सकिने बताइएको छ। उक्त नम्बरमा कल गर्दा विकल्प १ र त्यसपछि ३ छनौट गरेर आफ्नो भाषा छनौट गर्न पाइनेछ।