प्रवास खबरको वार्षिकोत्सवमा एनआरएनए मुद्दामा बहस

प्रवास खबरको वार्षिकोत्सवमा एनआरएनए मुद्दामा बहस

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रवीना थापाले एनआरएनएभित्र महिला र युवालाई हेर्ने छुट्टै दृष्टिकोण रहेकोमा चित्त दुखाएकी छिन् ।

प्रवास मिडिया प्रोडक्सन प्रालिद्वारा संचालित प्रवास खबर डटकमको प्रथम वार्षिकोत्सवको अवसरमा शनिवार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले उक्त गुनासो पोखेकी हुन्।

प्रवास खबर डटकमले आफ्नो स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उपाध्यक्ष थापाले एकदिन सत्यको अवश्य जित हुने भएकोले कुनै व्यक्ति विशेषभन्दा पनि सबैले देशको पक्षमा कलम चलाउन आग्रह गरिन ।’

एनआरएनएको आगामी निर्वाचनमा अध्यक्ष पदकी उम्मेदवार समेत रहेकी उपाध्यक्ष थापाले भनिन्,‘एनआरएनएभित्र महिला र युवालाई हेर्ने दृष्टिकोण अलि संकुचित छ । त्यसलाई चिर्नका लागि पनि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुँ ।’

उक्त वार्षिकोत्सव कार्यक्रममा विशेष अतिथिका रुपमा बोल्दै एनआरएनएका केन्द्रीय महासचिव डा.हेमराज शर्माले अहिले रामराज्यको कल्पनाको कुनै अर्थ नरहेकोको एनआरएनभित्रको विवाद हल गर्नका लागि असमझदारीको बीचमा समझदारी गरेर केन्द्रिय निर्वाचन गर्नुपर्ने बताए ।

‘देशका प्रमुख राजनीतिक दलहरुले समयमा आफ्नो महाधिवेशन गर्न नसकेर समय लम्ब्याउदै गएको सन्दर्भमा हामीले तोकिएको समयमा निर्वाचन गछौं भन्दा पनि नपाउने ? एनआरएनएको आगामी निर्वाचनमा उपाध्यक्षका प्रत्यासी समेत रहेका महासचिव डा. शर्माले भने,‘एनआरएनएको विधान संशोधन गर्न सम्भव भएकोले नै आगामी निर्वाचनमा पैसाको चलखेल नहुने व्यवस्था गरिएकाले नै रविना थापाजीले अध्यक्ष पदमा उम्मेदवारी दिने आँट गर्नुभएको छ।’

विगतमा एनआरएनएको निर्वाचनमा अध्यक्षले मात्रै १०/११ करोड रुपैंया खर्च गर्नुपर्ने स्थिती थियो । शर्माको दावी अनुसार अबको निर्वाचनमा त्यो स्थिती रहने छैन।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विशेष एनआरएनए अभियन्ता तथा आगामी निर्वाचनमा महासचिवका प्रत्यासी विनय अधिकारीले प्रवासमा रहेका ७० लाख नेपालीको मुद्दा सम्बोधन गर्न पनि एनआरएनएमा उम्मेदवारी दिएकाहरु मैदान छाडेर भाग्न नहुने बताएका थिए।

‘हामीले एनआरएनएको नेतृत्व गर्ने अवसर पाएको खण्डमा मिडियालाई टिकाउने खालका कार्यक्रम ल्याउने छौं,यसैले हामीले भागेर हुदैंन निर्वाचनको प्रक्रियामा आएर यो काम गर्नुपर्छ ।’