प्रवास खबर दोस्रो वर्षमा प्रवेश

प्रवास खबर दोस्रो वर्षमा प्रवेश

डायसपोराका नेपालीका मुद्धामा केन्द्रित रहेर गत वर्ष आजकै दिन हामीले प्रवास खबर डटकम सञ्चालनमा ल्याउँदा थुप्रै संशय थिए। हामीमाथि चुनौतिको चाङ थियो। प्रवासमा रहेको नेपालीको मुद्धालाई कसरी अगाडि बढाउने र आफूलाई कसरी पृथक अनि विश्वसनीय बनाउने लगायतका जिम्मेवारी हाम्रो काँधमा थियो।

तर, हामीले एक वर्षभित्र नै प्रवास खबरलाई सबैमाझ पुर्याउन र विश्वसनीय बनाउन प्रयासरत छौं । प्रवासी नेपालीसँग सरोकार राख्ने हरेक विषयलाई विविध कोणबाट खोतल्ने हाम्रो कोशिस रहयो।

प्रवासमा रहेका नेपालीसँग केवल समस्याका पोकामात्र छैनन्। देशको भूगोल छिचोलेर विदेशिएका नेपालीले प्रवासलाई आफ्नो कर्मभूमि बनाएर सफलताको झण्डा पनि गाडेका छन्। हामीले विदेशी भूमिमा नेपालीले प्राप्त गरेको उपलब्धिलाई गौरब मानेका छौं । प्रवास खबरमा यस किसिमका सामाग्रीलाई विशेष महत्वका साथ प्रकाशित पनि गर्दै आएका छौं।

प्रवासिएका नेपालीसँग जोडिएका विषयलाई मुलधारका मिडियाले यथोचित स्थान नदिएको गुनासो यथावत छ। यसैले हामीले संसारभरी छरिएर रहेका नेपालीका मुद्दालाई गम्भिर रुपमा लिएका छौं। प्रवासी नेपालीलाई नेपालबाट हेर्ने परम्परागत मान्यतालाई भत्काउने आँट गरेका छौं। हामीले यो विश्वास आदरणीय पाठकबाट नै पाएका हौं। हामीलाई हेक्का छ,विशेषगरी प्रवासमा बसोबास गर्ने सम्पूर्ण नेपालीको मायाले नै हामी यो स्थानमा पुग्न सफल भएका हौं।

विदेशबाट हुने सुन तस्करी, मानवतस्करीको विषयमा यसअघि खासै समाचार आउँदैथें । तर, नेपाली मिडियामा हाम्रो उपस्थितिसँगै प्रवासी नेपालीका मुद्दाहरुले पनि पछिल्लो समय स्थान पाउन थालेका छन्। नेपालीले विदेशमा,विशेष गरेर खाडी मुलुकमा भोग्नु परेको समस्या सम्बन्धित दूतावाससँग सोधपुछ गरेर, दुःख पाएका ती नेपालीको अनेकौं समस्या हल गर्न पनि हामी सफल भएका छौं । लेखनमार्फत हौसला प्रदान गर्ने,बेथिती र गैरजिम्मेवार विधि प्रक्रियामाथि खबरदारी गर्नेमात्र होइन हामीलाई थाहा छ,मानवियता पनि हाम्रो दायित्वभित्र पर्दछ।

गत एक वर्षको अवधिमा गैरआवासीय नेपालीका मुद्दालाई थप सशक्त बनाउन पनि हाम्रो भूमिका रचनात्मक रहयो । हामीले व्यक्तिभन्दा पनि संस्थालाई ठूलो मानेर समाचार सम्प्रेषण गर्यौ । हो, यसलाई हेर्ने दृष्टिकोण ब्यक्ति अनुसार फरक फरक हुन सक्छ । तर, हामी संस्थालाई थप मर्यादित बनाउने पक्षमा उभिएका छौं। हाम्रो लागि ब्यक्तिभन्दा विधि प्रमुख हो।

गैरआवासीय नेपालीको समस्या, विदेशमा रहेका नेपालीले देशमा लगानी गर्ने सहज वातावरणको निर्माणका लागि सरकारलाई सल्लाह र सुझाव दिने काम पनि गरेका छौं । विदेशमा बसेर व्यापार, व्यवसाय गर्ने नेपालीलाई आफ्नै देशमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न लेख तथा रचनाहरू पनि प्रकासित गर्दै आएका छौं ।

जेहोस्,एक वर्षको छोटो अवधिमा हामीले थुप्रै मुद्धा उठायौं । त्यसमा केही मुद्धालाई टुँगोमा पुर्याउन पनि सफल भएकोमा गौरववोध पनि छ । व्यवसायिक पत्रकारिताप्रतिको हाम्रो प्रतिबद्धताकै कारणले होला,एक वर्षको छोटो अवधिमै हामीले प्रवासी नेपालीको न्यानो माया र साथ सहयोग पाइरहयौं।

हम्रो अगाडि अझैं चुनौति बाँकी छन् । त्यसैले हामीले लिएको चुनौतीमा पाठकवर्गले दिनुहुने साथले हामीलाई हौसला प्रदान गर्नेछ । प्रवास खबर दोस्रो वर्षमा प्रवेश गरेको यो सुखद अवसरमा पाठकवर्ग, विज्ञापनदाता, लेखक तथा बुद्धिजिवी र विशेषगरी समस्त प्रवासी नेपालीप्रति विशेष आभार छ । र, सधैं नै उहाँहरूको साथ र सहयोगको अपेक्षा गरेका छौं।

बिनेश खनाल
अध्यक्ष
प्रवास मिडिया प्रोडक्सन प्रालि