एनआरएनएलाई एक ढिक्का बनाउँछु : डा केसी

एनआरएनएलाई एक ढिक्का बनाउँछु : डा केसी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार डा.बद्री केसीले निर्वाचनमा विजयी भएमा आफ्नो र अर्काको टिम नभनी साझा रुपमा नेतृत्व गर्न तयार रहेको बताएका छन्।

‘टिम बद्री’ले शुक्रबार आयोजना गरेको नयाँ वर्षको शुभकामना तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै डा.केसीले निर्वाचन अघि विभिन्न टिम बन्नू स्वभाविक भए पनि निर्वाचनपछि भने सबै टिमलाई बिर्सेर साझा नेतृत्व गर्ने बताएका हुन्।

‘‘चुनावमा जाने बेलमा कोही न कोहीसँग मिलेर टिम बन्ने भए पनि चुनाव जितेर आएपछि मेरो र अर्काको टिम नभनी साझा नेतृत्व गर्न तयार छु’, उनले भने । डा.केसीले २०१९–२१ कार्यकालमा उल्लेखनीय कार्य भएको चर्चा पनि गरे ।

विश्वभरि रहेका ६२ वटा देशमा एनसिसीको निर्वाचन भएर नयाँ नेतृत्व चयन भएको र ३६ सय प्रतिनिधि छनौट भएर आएकाले जनवरीमा निर्वाचन गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको उनको भनाइ छ।

अघिल्लो वर्ष एकआपसमा असमझदारी जे जस्तो देखिए पनि अब त्यसलाई अन्त गर्नु पर्ने उनले धारणा राखे। ‘हामी बीचमा समस्या मात्र खोज्ने नभई हामीबीचबाटै समाधान निकाल्नुपर्छ,’ उनले भने ।