यूएईमा बढ्यो कोभिड संक्रमण, दुबईमा मास्क नलगाउनेलाई ३ हजार दिराम जरिवाना

यूएईमा बढ्यो कोभिड संक्रमण, दुबईमा मास्क नलगाउनेलाई ३ हजार दिराम जरिवाना दुबई : फाइल फोटो

दुबई। यूएईमा पछिल्ला केही दिनयता कोभिड संक्रमण तीव्र गतिमा फैलिरहेको छ। यूएईको स्वास्थ मन्त्रालयले सार्वजानिक गरेको पछिल्लो दस दिनयताको तथ्याङ हेर्दा कोभिड विरामीको संख्या ह्वात्तै बढेको देखिन्छ।

२० डिसेम्बरमा ३०१, २१ डिसेम्बरमा ४५२, २२ डिसेम्बरमा ६६५, २३ डिसेम्बरमा १ हजार २, २४ डिसेम्बरमा १ हजार ३५२, २५ डिसेम्बरमा १ हजार ६२१, २६ डिसेम्बरमा १ हजार ८०३, २७ डिसेम्बरमा १ हजार ७३२, २८ डिसेम्बरमा १ हजार ८४६ र २९ डिसेम्बरमा आइपुग्दा बढेर २ हजार २३४ पुगेको छ । जबकी १३ डिसेम्बरसम्म दैनिक संक्रमित एक सयभन्दा कम मात्रै भेटिन्थे । १३ डिसेम्बरमा ९१ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यसपछि लगातार संक्रमण अचानक बढ्न थालेपछि यूएई सरकारले स्वास्थ्य सुरक्षामा कडाइ गर्न थालेको छ । विभिन्न राज्यहरुमा नयाँ स्वास्थ्य मापदण्ड लागू गरिएको छ।

जसअनुसार दुबई राज्यमा मास्कको अनिवार्य प्रयोग, नलगाएमा ३ हजार दिराम जरिवाना (नेपाली झण्डै १ लाख) कायम गरिएको छ।

यस्तै अन्य ईमिरेट्स (राज्य) बाट राजधानी आबुधावी प्रवेशमा नयाँ मापदण्ड लागू गरिएको छ । सार्वजनिक गरिएको नयाँ निर्देशिका अनुसार कोभिडविरुद्धको खोप प्राप्त गरेका व्यक्ति यूएई भित्रबाट आबुधाबी इमिरेट्समा प्रवेश गर्न चाहेमा ‘अल्होशन एप’मा ‘ग्रीन स्टाटस’ देखिनु पर्नेछ। त्यस्तै, कोभिडविरुद्धको खोप प्राप्त नगरेका व्यक्तिले ९६ घण्टा भित्रसम्म परीक्षण गरिएको पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ प्रस्तुत गर्नु पर्नेछ।

नयाँ मापदण्ड ३० डिसेम्बर बिहीबारदेखि लागू हुनेछ। त्यस्तै आगामी ३ जनवरीबाट खुल्ने सरकारी र नीजि स्कुलको दोश्रो त्रैमासिक कक्षालाई दुई हप्ताको लागि अनिबार्य ‘अनलाइन’ गरिएको छ।

यूएईमा अहिले विश्वकै ठूलो प्रर्दशनी ‘दुबई एक्स्पो’ चलिरहेको छ। ‘एक्स्पो’ अवलोकलन गर्न संसारभरका पर्यटक यूएई आएका छन्। संक्रमण बढेपछि ‘एक्स्पो’का पेविलियनमा समेत स्वास्थ्य सुरक्षामा कडाइ गरिएको छ।