प्रवासी नेपालीको सारथी बन्दै ‘रोलिङ कर्मशील विदेश’ मोबाइल एप

प्रवासी नेपालीको सारथी बन्दै ‘रोलिङ कर्मशील विदेश’ मोबाइल एप

काठमाडौं। अनुप जंगम, मानव संशाधन क्षेत्रमा नौलो नाम होइन। उनी विगत १७ वर्षदेखि मानव संशाधन परार्मशदाता कम्पनी ‘रोलिङ प्लान्स’मा कार्यकारी निर्देशकको भूमिकामा छन्। उनी कम्पनीको संस्थापक अध्यक्ष पनि हुन्।

उनी नेतृत्वकै एउटा कम्पनी ‘रोलिङ नेक्सस’ले एक वर्षअघि ‘रोलिङ कर्मशील विदेश’ एप सञ्चालनमा ल्याएको थियो। जुन अहिले विशेषतः खाडी मुलुक र मलेसियामा लोकप्रिय हुँदै गइरहेको छ।

‘रोलिङ कर्मशील विदेश’ वैदेशिक रोजगारीमा जान खोज्ने तथा त्यहाँ पुगेर काम गरिरहेका नेपालीलाई सहज होस् भन्ने अभिप्रायले सञ्चालनमा ल्याइएको एप हो। ‘डिजिटल क्रान्ति’ का लागि सबैभन्दा ठूलो बरदान नै, मोबाइल एप मानिन्छ। यो अन्य क्षेत्रका लागि मात्र नभएर, श्रमिकका लागि पनि बरदान सावित भइसकेको छ।

यतिबेला सबैको हातमा स्मार्ट फोन छ। यस्तो अवस्थामा वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई ‘डिजिटल क्रान्ति’ सँग जोड्नु महत्वपूर्ण मानिन्छ।

‘रोलिङ नेक्सस’ले वैदेशिक रोजगारीमा जाने नेपालीका लागि सबै किसिमको सेवा–सुविधा तथा गुनासो व्यवस्थापन गर्न पनि यो एप बजारमा उतारेको कम्पनीका अध्यक्ष जंगम बताउँछन्।

अध्यक्ष अनुप जंगम

‘नेपालमा मानव संशाधनको क्षेत्रमा जति विकाश हुनुपर्ने हो, त्यो अझै हुन सकिरहेको छैन। देशभित्र भइरहेको रोजगारीमा मात्र होइन, उद्यमशीलतातर्फ पनि खासै काम भइरहेकको देखिदैन,’ जंगमले एप बजारमा ल्याउनुको कारण खुलाउँदै भन्छन्, ‘जो सँग सीप छैन, उनीहरुलाई डिजिटल प्लेट फर्ममा ल्याउने जमर्को हामीले गरेका हौँ। एप बनाउनु पर्ने खास उद्धेश्य भनेको वैदेशिक रोजगारीको क्षेत्रमा भएको वेथेति र यो क्षेत्रमा रहेको चुनौतिको सम्बोधन गर्नु हो।’

यो एपमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, श्रम मन्त्रालय, गन्तव्य देशमा रहेका दूतावास, विमानस्थल, अध्यागमन विभाग, श्रम डेस्क, मान्यता प्राप्त म्यानपावर,अभिमुखिकरण तालिम प्रदान गर्ने संस्था, स्वास्थय परीक्षणका लागि मान्यता प्राप्त मेडिकल, बिमा कम्पनीलगायतका मह्त्वपूर्ण निकायका सम्पूर्ण विवरण उपलब्ध छन्।

उनी वैदेशिक रोजगारीमा थुप्रै समस्या र चुनौति भएको बताउँछन्। यस्तै, बेथेति पनि टन्नै रहेको उनको बुझाइ छ।

‘वैदेशिक रोजगारीको लागि योजना बनाइरहेका श्रमिक उचित सूचनाको अभावले समस्या झेलिरहेका हुन्छन्। जस्तै कुन मेनपावरमा डिमाण्ड आयो। के कामका लागि श्रमिक मागिएको हो? तलब सुविधा के कति हो भन्ने कुरा श्रमिकलाई औल्याउन गाह्रो हुन्छ’ उनी समूचित सूचनाको अभावमा यस्तो भइरहेको बताउँदै भन्छन्, ‘यसलाई उचित सूचना दिने काम यो एपले गर्छ।’

उनले मागपत्र सहि हो वा होइन भन्ने जानकारी पनि एपले दिने बताउँछन्। ‘वैदेशिक रोजगारीमा जाने कामदारलाई सहि सूचना नहुँदा विचौलीयाहरु बढी सल्बलाएका देखिन्छन्,’ उनी भन्छन्, ‘यो एपले सहि र सत्य सूचनाप्रवाह गरेर विचौलीयाबाट बचाउन मद्धत गर्नेछ।’

यस्तै, वैदेशिक रोजगारीमा जाने नेपालीका गुनासालाई पनि आफ्नो एपले व्यवस्थापन गर्ने उनी बताउँछन्।

‘विदेश जाने क्रममा ठगिमा परेका श्रमिकको गुनासो संकलन गर्ने, उनीहरुको समस्या पहिचान गर्ने, विदेश गइसकेपछि समस्यामा परेकाको पनि समस्याहरु संकलन गरेर समस्या समाधानको लागि सम्बन्धीत निकायसम्म पुर्याउने काम हाम्रो एपले गर्छ,’ उनी भन्छन्, ‘विदेश जाने सुसूचित गर्ने, विचौलीयाको भरमा नपर्ने, आफूले स्वयम निर्णय गर्नको लागि पनि हाम्रो एपले प्रेरित गर्नेछ।’