काठमाडौ–दिल्ली उडानका लागि एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने

काठमाडौ–दिल्ली उडानका लागि एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने File Photo

काठमाडौं। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट भारतको राजधानी नयाँ दिल्ली उड्न चाहने सबै यात्रुले भारत सरकारले लागू गरेको एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने छ। नेपाल एयरलाइन्सले मंगलबार यसको सूचना जारी गर्दै जानकारी दिएको छ।

काठमाडौं–दिल्ली प्रस्थान गर्ने सबै यात्रुको साथमा ४८ घण्टा भित्रको आरटी–पीसीआर रिपोर्ट नेगेटिभ प्रमाणपत्र हुनुपर्छ । उनीहरुले नेपाल सरकारले अनिवार्य गरेको सीसीएमसीको प्रस्थान फारम समेत भर्नुपर्ने सूचनामा उल्लेख छ । साथमा भारत सरकारले अनिवार्य गरेको एयर सुविधा फारम भर्नुपर्ने जनाइएको छ ।

फारम नयाँ दिल्ली विमानस्थलको वेवसाइटमा पनि राखिएको छ । यसरी फारम भर्ने यात्रुले मात्र उडानको मौका पाउने नेपाल एयरलाइन्सले जनाएको छ । निगमले उडान तालिकामा समेत परिवर्तन भएको जनाएको छ । नेपाल एयरलाइन्सको जहाज दिल्लीका लागि हरेक दिन दिउँसो ११ बजेर ४० मिनेटमा दिल्ली उड्ने छ । यो जहाज सोही दिन ४ बजेर २० मिनेटमा काठमाडौं अवतरण गर्नेछ ।

अहिले नेपालमा भारतसँग एयर बबल स्किम अनुसार उडान भइरहेको छ । भारतबाट एयर इण्डिया र नेपालबाट नेपाल एयरलाइन्सले उडान गर्छन् । यसमा दुई मुलुकका नागरिक र तेस्रो मुलुकका अनुमति प्राप्त यात्रुले मात्र उडान गर्न सक्छन् ।