संक्रमण बढेपछि आबुधाबीमा सार्वजनिक जमघट गर्न कडाइ

संक्रमण बढेपछि आबुधाबीमा सार्वजनिक जमघट गर्न कडाइ

आबुधाबी । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै आबुधाबीमा विवाह, मृत्यु संस्कार र पारिवारिक जमघट जस्ता सामाजिक कार्यमा उपस्थित हुन पाउने अधिकतम संख्यालाई घटाइएको ।

यूएईको आपतकालीन, संकट, तथा विपद् व्यवस्थापन समितिले पनि ‘ग्रीन पास प्रोटोकल’को पालना गर्न र त्यस्ता सामाजिक जमघटका कार्यक्रमहरुमा भाग लिनको लागि अनिवार्यरुपमा कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने कुरामा जोड दिएको छ।

नयाँ नियम अनुसार ‘ईन्डोर ईभेन्ट्स’मा ५० जनाभन्दा बढी व्यक्ति सहभागी हुन पाइनेछैन। त्यस्तै, घरमा गरिने सामाजिक कार्यमा अधिकतम ३० जना मात्रै जम्मा हुन पाइनेछ।

एक्स्पो– २०२० दुबईका आयोजकले पनि कोभिडसम्बन्धी सुरक्षा सतर्कतालाई बढावा दिइरहेका छन् । जसअनुसार गतहप्ता रेस्टुरेन्टमा कार्यरत अधिकांश श्रमिकमा कोभिड संक्रमण पुष्टि भएपछि जापान पेभिलियनको एउटा रेष्टुरेन्ट अस्थायी रुपमा बन्द गरिएको थियो।

त्यसैगरी नयाँ वर्षको पूर्वसन्ध्यामा तीन दिनसम्म चल्ने उत्सवको लागि यूएईभरमा अधिकारीले कोभिड सुरक्षासम्बन्धी मापदण्डलाई कडाइपूर्वक लागू गरेका छन्।

कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ १ सय ८ वटा देशहरुमा फेला परेकोले यहाँका अधिकारीहरुले खोपको ‘बुस्टर डोज’को महत्वलाई जोड दिएका छन्। यसबारेमा दुबईको स्वास्थ्य प्राधिकरणले सोमबार एक चार्ट जारी गरेको छ। जसमा विभिन्न खोप लिएका व्यक्तिको लागि फाइजर बायोटेक बुस्टर रेजिमेनको विवरण सार्वजनिक गरिएको छ।

कोभिड–१९ विरुद्धको ‘बुस्टर डोज’ सम्बन्धी गरिएका अध्ययनहरु अनुसार यसले प्रतिरक्षा/एन्टीबडीको स्तरलाई गुणात्मक रुपमा वृद्धि गर्न मद्दत गर्ने बताइएको छ। त्यस्तै, ‘बुष्टर डोज’ले ‘ओमिक्रोन भेरियन्ट’लाई पनि सामना गर्नसक्ने एन्टीबडी उत्पादन गर्ने बताइएको छ।