कुवेतसँग नेपालको अर्को हार

कुवेतसँग नेपालको अर्को हार

काठमाडौँ । नेपाल युएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा पनि पराजित भएको छ । दुबईको आइसीसी एकेडेमीमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग एक विकेटले पराजित भयो ।

यसअघिनै प्रतियोगिताबाट बाहिरिएको नेपालको यो तेस्रो हार हो । नेपालले कुवेतसँग प्रतिष्ठाका लागि खेलेको थियो । नेपालले दिएको दुई सय ४० रनको विजय लक्ष्य कुवेतले ४८.५ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो । कुवेतका लागि कप्तान मित भाब्सरले अविजित एक सय ७५ रन बनाए । जुड साल्दन्हाले २५ रन बनाए । बलिङमा नेपालका गुलशन झाले तीन विकेट लिए । शेर मल्ल, बसिर अहमेद र विवेक यादवले दुई दुई विकेट र्लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३९ रन बनाएको थियो । नेपालका लागि बसिर अहमेद र विवेक मगरले अर्धसतकीय इनिङ्स खेले । अहमेदले ५६ र विवेकले ५० रन बनाए । मोहमद आदील आलमले ४९, शेर मल्लले २१, दिपेश कँडेलले १५ र अर्जुन साउद १० रन बनाए ।

बलिङमा कुवेतका मिर्जा अहमेद र अब्दुल साकिदले तीन तीन विकेट लिए । हेनरी थोमस र मोहमद वासटाकीले दुई दुई विकेट लिए । समूह ‘बी’ मा रहेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग एक सय ५४ रन र दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो । यस समूहबाट बङ्गलादेश र श्रीलाले सेमिफाइनलमा स्थान बनाएका छन् । कुवेत पनि यसअघिनै बाहिरि सकेको छ । कुवेत समूहको तेस्रो र नेपाल अन्तिममा स्थानमा रह्यो ।