नेपाल र सिसेल्सबीच द्विपक्षीय श्रम समझदारीको तयारी

नेपाल र सिसेल्सबीच द्विपक्षीय श्रम समझदारीको तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सिसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल र सिसेल्सको द्धिपक्षीय हित र आपसी सम्वन्धबारे छलफल भएको छ । वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरु लैजान गणतन्त्र सेसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिएका छन्। नेपाली कामदारहरु सिसेल्समा वैदेशिक रोजगारीका लागि पठाउन नेपाल सकारात्मक रहेको बताउदै मन्त्री श्रेष्ठले द्विपक्षीय श्रम समझदारी एमओयूका लागि तयारी अघि बढाइने बताएका छन्। सिसेल्स हेर्ने नेपाली राजदुतावास प्रिटोरिया दक्षिण अफ्रिकाको राय बमोजिम जेल सुरक्षाको लागि मात्रै नभएर प्रहरी सेवा र नीजि क्षेत्रमा हुने रोजगारी समेतलाई समेटेर द्विपक्षीय श्रम समझदारी अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो ।

मन्त्री श्रेष्ठले नेपालबाट वार्षिक कति कामदार लैजाने, कस्तो खालको सीप तालिम आवश्यक पर्दछ ,न्युनतम योग्यता र भाषागत क्षमताका साथै न्युनतम पारिश्रमिक लगायत सेवा सुविधाहरुबारे छलफल गरी द्विपक्षीय श्रम समझदारी एमओयू गर्न सकिने बताएका छन् । कामदार छनोट, रोजगारी र स्वदेश फिर्ती लगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुंगो लगाउन उपयुक्त हुने उनको भनाइ छ।

राजदूत पिल्लेले सिसेल्स सरकार सुरक्षागार्ड बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदारहरु लैजान इच्छुक रहेको बताएका छन् । उनले खुला र उदार अर्थव्यवस्था भएको सिसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनुसक्ने बताए । सिसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने बताए । राजदूत पिल्लेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई सिसेल्स भ्रमणको निम्तो पनि दिएका छन् । नेपाल र सिसेल्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ३४ बर्ष भएको छ ।



No ads found for this position