नेपाली दूतावास र एनआरएनए ओमनको सक्रियतामा एक नेपाली महिलालाई उद्धार गर्दै नेपाल पठाइयो

नेपाली दूतावास र एनआरएनए ओमनको सक्रियतामा एक नेपाली महिलालाई उद्धार गर्दै नेपाल पठाइयो

ओमन। नेपाली दूतावास ओमन र एनआरएनए ओमनको संयोजन र सहयोगमा एक नेपाली महिलाको उद्धार गरि स्वदेश फर्काइएको छ। घरेलु कामदारको रुपमा ओमनमा कार्यरत ती महिलालाई गत मे महिनामा कोभिड सक्रमण भएपछि अर्ध प्यारालाइसिस भएको थियो। उनलाई बुधबार उद्धार गर्दै नेपाल फर्काइएको हो। उनी गत ८ मेमा संक्रमित भएर सलालास्थित सुल्तान काबुस अस्पतालमा भर्ना भएकी थिइन। उनमा निमोनिया पनि देखिएको थियो भने खानासमेत नाकबाट पाइपको सहाराले दिनुपरेको थियो। विगत ७ महिनादेखि अस्पतालमा उपचाररत् रहेकोमा ३ महिनादेखि अस्पतालले अब थप सुधार हुन समय लाग्ने र यो अवस्थामा नेपाल लान सकिने भन्ने जानकारी गराएको थियो। नेपालमा उनको परिवारका छोरी९ज्वाईंसँग सरसल्लाह गरी नेपाल पठाउने सहमति अनुसार यात्रा समन्वय गरिएको दूतावासले जनाएको छ।

उनलाई सलालाबाट मस्कटसम्म ओमन एअरको विमानबाट तथा मस्कटदेखि काठमाडौ सलाम एअरको विमानबाट स्ट्रेचरको व्यवस्था गरि नेपाल पठाइएको हो। नेपाल पठाउन करिब ९ लाख ८८ हजार३१६ रुपैयाँ खर्च लागेको थियो, जसमा छोरी–ज्वाईंले ३ लाख १२ हजार ६५० व्यहोरेको र बाँकी नेपाली दूतावास र एनआरएनएको संयोजनमा जुटाइएको थियो। उपचारमा लागेको खर्च अस्पतालले मिनाहा गरेको थियो। यात्रा व्यवस्थापनगर्ने क्रममा दूतावासका कार्यवाहक राजदूत सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल र एनआरएनएका तर्फबाट संघका अध्यक्ष बिकल झा विमानस्थलमा उपस्थित थिए। १९ डिसेम्बरमा लण्डनबाट नेपाल जाने क्रममा उडानको क्रममै अकस्मात् मृत्युवरण गरेकी एक नेपाली महिलाको शव तथा उनीसँगै यात्रामा रहेका तर मस्कटमा रोकिएका परिवारका अन्य सदस्यहरूलाई समेत सहजीकरण गरी सोही उडानबाट नेपाल पठाइएको दूतावासले जनाएको छ।