गैरकानुनी रुपमा ग्रिस प्रवेश गर्ने क्रममा ४ नेपालीको मृत्यु भएको इन्टरपोलद्धारा पुष्टी

गैरकानुनी रुपमा ग्रिस प्रवेश गर्ने क्रममा ४ नेपालीको मृत्यु भएको इन्टरपोलद्धारा पुष्टी

काठमाडौं। गत महिना टर्कीबाट गैरकानुनी रुपमा युरोप प्रवेश गर्ने सिलसिलामा ग्रिसको सीमा नजिकै दुर्घटनामा मारिएका ४ नेपालीहरूको सनाखत भएको छ। ग्रिस प्रहरीले इन्टरपोललाई दिएको सूचनाको आधारमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटाको निधन भएको पुष्टी भएको हो। सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको सनाखत हुन बाँकी थियो ।

गत मंसिरको पहिलो साता टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा नेपालीहरू मारिएको समाचार प्रवास खबरले दिएको थियो। तर, मर्ने व्यक्तिको पुष्टी भएको थिएन। स्थानीय नेपालीहरूले गैरकानुनी रुपमा ग्रिस प्रवेश गर्ने कुनै पनि नेपालीले ज्यान गुमाउनु नपरेको भन्दै घटनालाई ढाकछोप गर्न खोजेका थिए। तर, इन्टरपोलले एक महिनापछि यसको पुष्टी गरेको छ। ग्रिस प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा मृतकको फोटो राखेको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको नेपाली राजदूतावास भियनाले जानकारी दिएको हो।

दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था सामान्य छ । भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए । हाल ग्रिसको एथेन्स सहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य ४ जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो ।

गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीको सो दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा दुई नेपाली सहित आठ जना घाइते भएका थिए । ओभरलोड गाडी तीव्र गतिमा गुडेको हुँदा चालकले सन्तुलन गुमाएर दुर्घटनामा परेको थियो।