खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग

खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) का केही केन्द्रीय सदस्यले राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका छन । क्यानका केन्द्रीय कार्यसमितिका सदस्य छुम्बी लामा, ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंहले आज पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका हुन ।

क्यानको अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरे बमोजिम खेलाडी आचार संहिता उल्लङ्घन गरेको भन्दै क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो ।

पत्रकार सम्मेलनमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामाले खेलाडीमाथि नियोजित तरिकाले कारबाही गरेको भन्दै कारबाही फिर्ता गर्नुपर्ने बताए । खेलाडीले वर्गीकरणमा असहमति जनाएपछि उनीहरूसँग सम्वाद गरेर विवाद सल्टाउनुपर्नेमा झन् निहुँ खोजेर कारबाही गरिएको क्यान सदस्यले विज्ञप्तिमा उल्लेख गरेका छन ।