कतारमा राहदानी फिर्ता नगर्ने रोजगारदातालाई कारबाही हुने

कतारमा राहदानी फिर्ता नगर्ने रोजगारदातालाई कारबाही हुने

दोहा। कतारको गृह मन्त्रालयले आवासीय अनुमति लिने वा नवीकरण गर्ने प्रक्रिया पूरा गरेपछि पनि कर्मचारी (श्रमिक) लाई राहदानी फिर्ता नगर्ने रोजगारदातालाई कारबाही गर्ने जनाएको छ।

मन्त्रालयले रोजगारदाताहरुलाइ श्रमिक (कर्मचारी) हरूको आवाशीय अनुमति लिने वा नविकरण गर्ने प्रक्रिया पूरा गरेपछि राहदानी कर्मचारी (श्रमिक) हरुलाई नै बुझाउन आग्रह गरेको हो। मन्त्रालयले आवाशीय अनुमति लिने वा नवीकरण गर्ने प्रक्रिया पूरा गरिसक्दा पनि कर्मचारीलाई राहदानी हस्तान्तरण नगर्ने रोजगारदातालाई २५ हजार कतारी रियालसम्म जरिवाना लाग्ने बताएको छ। आप्रवासीको प्रवेश, बसोबास र बहिर्गमनलाई नियमन गर्ने कानुनको बुँदा नं २१/२०१५ को प्रावधानहरु उल्लंघन गर्नेहरुको लागि ग्रेस अवधिको बारेमा जानकारी दिने उद्देश्यले सोमबार मन्त्रालयले राखेको एक वेभीनारमा सो कुरा अवगत गराइएको हो। सो कार्यक्रममा ग्रेस अवधिको मान्यता ३१ डिसेम्बर, २०२१ सम्म मात्र रहेको बताइएको छ।

त्यसैगरी, सो अवसरमा अवैधानिक भिसाको कारोबार गर्नेलाई अधिकतम ३ वर्षसम्म जेल सजाय ररवा ५० हजार कतारी रियालसम्म जरिवाना हुने बताइएको छ। उक्त क्रियाकलाप दोहोरिएमा एकलाख कतारी रियालसम्म जरिवाना हुने बताइएको छ।

रोजगारदाताले तोकिएको अवधिभित्र आवास अनुमति र नवीकरण प्रक्रिया अगाडि बढाउन असफल भएमा म्याद समाप्त भएको मितिबाट ९० दिनसम्मको लागि १० हजार कतारी रियालसम्म जरिवाना हुने सो सन्दर्भमा बताइएको छ।

श्रमिकहरूको रोजगारीको अवस्था सच्याउनको लागि ग्रेस अवधिको घोषणा गरेपछि कतारको गृह मन्त्रालयले हालसम्म २० हजारभन्दा बढी श्रमिकहरुबाट अनुरोध प्राप्त गरेको बताइएको छ।