मलेसियामा बाढीका कारण हजारौं मानिसहरू घर छोड्न बाध्य

मलेसियामा बाढीका कारण हजारौं मानिसहरू घर छोड्न बाध्य

क्वालालम्पुर । मलेसियामा आएको भीषण वर्षाको कारण देशभरि नै क्षति पुऱ्याएको छ ।  हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। अधिकारीहरूका अनुसार वर्षाको कारण आएको बाढीले ११,००० मानिसहरू घरबारविहीन भएका छन्। बाढीका कारण सडकहरु अस्तव्यस्त भएकोले यातायात तथा ढुवानी सेवा पनि अवरुद्ध भएको छ ।

देशमा आएको बिपदको विषयमा मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री ज्याकोबले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बाढीमा फसेकाहरुलाई बचाउने प्रयास भइरहेको बताएका छन। बाढी प्रभावित जनतालाई आश्रयस्थलसम्म पु¥याउन देशभर ६६ हजारभन्दा बढी प्रहरी, सेना र अग्नि नियन्त्रण विभागका कर्मचारी खटाइएको उनले बताए।

देशको सबैभन्दा ठूलो बन्दरगाह पोर्ट क्लाङका अधिकारीहरूले बाढीले जहाज सञ्चालनमा गम्भीर असर पारेको र दर्जनौं राजमार्ग तथा सडक अवरोध भएको बताए। सुनसान सडकमा पहिरो र डुबानमा परेका गाडी तथा घरहरुका तस्वीरहरु सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल भइरहेको छ।

बाढीपहिरोको घटना ट्रयाकिङ गर्ने एक सरकारी वेबसाइटका अनुसार देशका १६ राज्य र संघीय क्षेत्रमध्ये ८ को जलस्तर शनिबार सम्म खतराको सतहमा पुगेको छ । जसकारण आगामी दिनमा स्थिति झन् खराब हुँदै जाने आकलन गरिएको छ । मलेसियन मौसम विभागले आइतबारसम्म भीषण वर्षा हुने चेतावनी दिएको छ । मलेसियाको सेलङर, क्वालालम्पुर र विभिन्न राज्यमा भारी वर्षा हुने सम्भावना रहेको छ । वर्षाको कारण मानिसहरू आफ्नो घर छोडेर सुरक्षित ठाउँमा गईरहेका छन ।