रेमिट्यान्स बन्द भए जनप्रतिनिधि र कर्मचारीहरुलाई तलब दिन धौ–धौ पर्छः मन्त्री साह

रेमिट्यान्स बन्द भए जनप्रतिनिधि र कर्मचारीहरुलाई तलब दिन धौ–धौ पर्छः मन्त्री साह

जनकपुरधाम। प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले देशका युवाले वैदेशिक रोजगारीबाट पठाएको पैसाले जनप्रतिनिधि र कर्मचारीलाई तलब खान पुगेको र यो जुनदिन आउन बन्द भए तलब दिन धौ–र्धा पर्ने बताएका छन्। उनले युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था सिर्जना हुनु नै देशका लागि अभिशाप भएको बताए।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२१ को अवसरमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले आयोजना गरेको कार्यक्रममा मन्त्री साहले भने, ‘अहिले रेमिट्यान्स बन्द भए जनप्रतिनिधि तथा कर्मचारीहरुलाई तलब दिन धौ–धौ पर्छ। हामी पनि त्यसैबाट अहिले तलब पाइरहेका छौँ।’

‘प्रदेश २ बाट सबैभन्दा बढी व्यक्तिहरु वैदेशिक रोजगारी जाने गरेको तथ्य बताउँदै उनले देशको अर्थतन्त्रमा रेमिट्यान्सको महत्वपूर्ण योगदान रहेको बताए। उनले आप्रवासीहरुको समस्याको तर्फ सरकारको ध्यान नजानु दुःखद रहेको भन्दै प्रदेश सरकारले यस वर्षको बजेटमा युवा स्वरोजगार कार्यक्रम राखेको जानकारी दिए। उनले यस कार्यक्रममा विदेशबाट फर्केका युवाहरुलाई प्राथमिकता दिने समेत बताए।

मन्त्री साहले वैदेशिक रोजगारीमा जानेका लागि शिपको व्यवस्था र आउनेहरुका लागि रोजगारीको व्यवस्था गर्ने बताए।