म्यानपावर कम्पनीको लापरवाहीले साउदीमा खराल दाजु–भाईको बिजोग, उद्धारको माग

म्यानपावर कम्पनीको लापरवाहीले साउदीमा खराल दाजु–भाईको बिजोग, उद्धारको माग

काठमाडौं । म्यानपावर कम्पनीको लापरवाहीका कारण रोजगारीको लागि साउदी अरब पुगेका कपिलबस्तुका दुई युवा समस्यामा परेका छन्।

शिवराज नगरपालिका–४ खैरेनीपुरका दाजु–भाई दिपक खराल र रामुप्रसाद खराल चाँदनी म्यानेजमेन्ट सर्भिसकाे विश्वासमा १७ नोभेम्बरमा साउदी अरेबिया पुगेका थिए।

भारतीय रेष्टुरेन्टमा कुकको काम लगाइदिने भन्दै उनीहरूलाई म्यानपावर कम्पनीले साउदी पुर्याएको थियो। तर, आफूहरूलाई भारतीय रेष्टुरेन्टको सट्टा अरविक रेष्टुरेन्टमा काम दिलाएको पिडित खराल दाजु–भाईले प्रवास खबरलाई जानकारी दिए।

उनीहरू हाल साउदीको नजरान भन्ने ठाउँमा काम गरिरहेका छन्। रेष्टुरेन्टमा दैनिक १७ घण्टा काम गर्नुपरेको र खाना पनि एक छाक मात्र पाउने उनीहरूले बताए।

‘यसरी त हामी छिट्टै मर्छो। १७ घण्टा काम लगाउँछन्। खाना पनि दैनिक एक छाक मात्र दिन्छन्। बिहान ४ बजे सुत्नुपर्छ। उठेर काम गर्दा तिघ्रा दुखेर हैरान छौं। बिहान उठ्न सकिन्न,’ पीडित रामुप्रसाद खरालले प्रवास खबरसँग भने।

नेपालबाट आफूहरूलाई लैजादा १० घण्टा काम गर्नुपर्ने, दुई हजार साउदी रियाल तलब हुने म्यानपावर कम्पनीले बताएको उनीहरूले जानकारी दिए। ‘तर, यहाँ १७ घण्टा पेलाइरहेका छन्। त्यो पनि जुन कामका लागि हामी आएका थियौं। त्यो कामको सट्टा अर्के काम लगाइरहेका छन्,’ दाजु दिपक खरालले भने।

म्यानपावर कम्पनीले आफूहरूबाट २ लाख ५० हजार असुलउपर गरेको उनीहरूको भनाइ छ। यस विषयमा पिडितका आमा तथा श्रीमतीले वैदेशिक रोजगार विभागमा उद्धारका लागि गत २४ गते नै निवेदन दर्ता गराएका थिए। तर, हालसम्म यस विषयमा कुनै कारवाही अगाडि नबढेको परिवारले जानकारी दियो।

विभागले यस विषयमा म्यानपावर सञ्चालकसँग लिखित जवाफ मागेको र उनीहरूले गैरजिम्मेवारपूर्ण जवाफ फर्काएका छन्। म्यानपावर कम्पनीले विभागलाई पठाएको पत्रमा भनिएको छ, ‘निजहरू विदेशमा गएको एक महिना पनि नपुगेको हुनाले कम्पनीले दिने तलब र अन्य सुविधाहरूको बारेमा यकिन भइनसकेको अवस्थामा निजहरूले हतार गरि उजुरी दिएको मात्र हो।’

तर, पिडितले आफ्नो समस्याको विषयमा म्यानपावर कम्पनीलाई बारम्बार जानकारी गराएको तर उल्टै गैर-जिम्मेवारपूर्वक प्रस्तुत भएको बताएका छन्।

‘हामीहरू मर्न यहाँ आएका होइनौं। तलब र सुविधा भन्दा पनि यहाँ ज्यान बचाउन गाह्रो भयो। १७ घण्टा भोकै काम गर्न हामी यहाँ आएका होइनौं,’ पीडित दिपकले भने, ‘हामीले जे भनेर पठाइएको थियो। त्यो भएको भए हाम्रो कुनै किसिमको गुनासो हुने थिएन।’

उद्धारका लागि म्यानपावर कम्पनीले गैरजिम्मेवारपूर्ण जवाफ दिएपनि विभागले उनीहरूको स्वास्थ्य अवस्था बिग्रिने डरले परिवारको आग्रहमा कुटनीतिक पहलका लागि परराष्ट्रमार्फत साउदी अरबको रियादस्थित नेपाली दूतावासमा पत्राचार गरेको छ।

‘हामीले म्यानपावर कम्पनीसँग पुनः छलफलका लागि बोलाउने निर्णय पनि गरेका छौं,’ विभागका महानिर्देशक दिपक काफ्लेले प्रवास खबरसँग भने।

म्यानपावर कम्पनीले उद्धारका लागि तदारुक्ता नदेखाएपछि पीडित खराल परिवारले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभागमा उजुरी दर्ता गराएको छ।