वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्नेलाई पानीमुनि गएपनि छोड्दैनौं : श्रममन्त्री श्रेष्ठ

वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्नेलाई पानीमुनि गएपनि छोड्दैनौं : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि नछोड्ने चेतावनी दिएका छन्।

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन मन्त्रालय गएका व्यवसायीहरुलाई मन्त्री श्रेष्ठले वैदेशिक रोगजारको क्षेत्र मर्यादित, सुरक्षित, व्यवस्थित र बेथिति नियन्त्रण गर्न व्यवसायी उतिकै जिम्मेवार हुनुपर्ने बताए।

मन्त्री श्रेष्ठले गलत काममा संलग्न जोसुकै माथि राज्यले कानूनअनुसार कारवाहीको प्रक्रिया अघि बढाउने बताउँदै वैदेशिक रोगजारसम्बन्धी बेथितिको अनुसन्धान र कारबाही गर्ने छुट्टै प्रणाली स्थापना गर्ने तयारी गरिएको बताए।

व्यवसायीहरुका जायज सुझावहरुलाई सरकारले ग्रहण गर्ने मन्त्री श्रेष्ठको भनाइ छ।

मन्त्री श्रेष्ठले वैदेशिक रोगजारको क्षेत्रमा रहेका बेथिति रोक्ने, नयाँ प्रणाली स्थापित गर्ने, सुरक्षित र व्यवस्थित बनाउने आफ्नो योजनामा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे। वैदेशिक रोजगारीमा देखिएका विकृतिलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्नेबारे मन्त्रालयले गठन गरेको कार्यदलले अध्ययन गरिरहेको उनले बताए। उनले वैदेशिक रोजगार व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मर्जमा जान पनि सुझाव दिए।

मन्त्रालयका सचिव एकनारायण अर्यालले सरोकारवला सवै पक्षको संयुक्त पहलबाट वैदेशिक रोजगारीका चुनौतिहरु समाधान हुने बताए। सचिव अर्यालले वैदेशिक रोजगारीका क्रममा हुने विकृति, विसंगति र गैरकानुनी कामहरुलाई नियन्त्रण गर्न वैदेशिक रोजगार प्रहरी बनाउने योजना अघि बढाइएको बताए । वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि ठगिरहित रोजगारी प्रत्याभूत गर्न मन्त्रालय क्रियाशील रहेको उनको भनाइ छ।

नेकपा (एकीकृत समाजवादी)का नेता उर्वादत्त पन्तले वैदेशिक रोजगारीका बेथिति रोक्न, नयाँ प्रणाली स्थापित गर्न र आम युवाको हितमा काम गर्न सर्वपक्षीय संयन्त्र निर्माण गरी काम गर्न सुझाव दिए। संगठनका अध्यक्ष सन्तकुमार लामाले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारलाई सहयोग गर्ने बताए । संगठनले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या र आफ्ना माग समेटेर मन्त्री श्रेष्ठलाई १६ बुंदे ज्ञापनपत्र बुझाएको थियो।



No ads found for this position