एनआरएनएको चुनाव गराउन कुमार पन्त असफल, विधानविपरीत भागबन्डा लगाउँदै

एनआरएनएको चुनाव गराउन कुमार पन्त असफल, विधानविपरीत  भागबन्डा लगाउँदै

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को यसअघि प्रकाशित निर्वाचन कार्यतालिका स्थगन गरिएको छ। संघभित्रको विवाद समाधान नभएपछि निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि प्रकाशित निर्वाचन सम्बन्धी कार्यतालिका स्थगन गरेकाे हो।

यसअघि यही डिसेम्बर २६ र २७ तारिखका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। निर्वाचन समितिले निर्वाचनको लागि आवश्यक मतदाता सूची पूर्ण रुपमा उपलब्ध भइनसकेकाले यसअघि प्रकाशित कार्यतालिका स्थगन गरिएको जनाएको छ ।

त्यस्तै, वर्तमान समस्या समाधानका लागि चार सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । अध्यक्ष कुमार पन्तले विवाद समाधानका लागि भन्दै चार सदस्यीय समिति गठन गरेका छन् । श्रोतका अनुसार  बिधान बमोजिम चुनाव गराउन असफल भएपछि पन्तले गैर-कानुनी बाटो अपनाएका हुन्।

पन्तले एक/एक वर्ष नेतृत्व सुम्पिनेगरी भागबन्डा गर्न लागेको श्रोतको दाबी छ। यसका लागि विधान परिमार्जन गर्ने समेत उनले तयारी थालेका छन्।

भागबन्डाको भने अध्यक्षका प्रत्यासी डा‍ बद्री केसी र रविना थापाको समूहले बिरोध गरेका छन् । सहमतीका नाममा विधानविपरीत हुने कुनै कार्यमा आफ्नो समर्थन नरहने उनीहरुले अडान कसेका छन्।

अध्यक्ष पन्तद्वारा हस्ताक्षरित पत्रमा विद्यमान समस्या समाधानका लागि छलफल जारी राखेको बताउँदै समिति गठन गरिएको उल्लेख छ । सबै पक्षसँग संवाद र सहमतिका आधारमा समस्या समाधान गर्न चार सदस्यीय समिति गठन गरिएको पत्रमा उल्लेख छ ।

समितिमा संघका केन्द्रीय सल्लहाकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, सचिव गौरि जोशी र प्रवक्ता डिबी क्षेत्री छन्।