साढे ५६ लाख बढीले अवलोकन गरे ‘दुबई एक्स्पो’

साढे ५६ लाख बढीले अवलोकन गरे ‘दुबई एक्स्पो’

दुबई । यूएईमा चलिरहेको ‘दुबई एक्पो–२०२०’ को हालसम्म साढे ५६ लाख बढी दर्शकले अवलोकन गरेका छन्। ५ डिसेम्बरसम्म ५६ लाख ६१ हजार ९६० जना दर्शकले ‘दुबई एक्स्पो’ को भ्रमण गरेको यूएईबाट प्रकाशित सञ्चार माध्यमले जनाएका छन्।

गत १ अक्टोबर देखि सञ्चालन भएको ‘एक्स्पो’मा युएईको स्वर्ण महोत्सवको साथमा दर्शकले शानदार खेल, संगीत र विभिन्न सांस्कृतिक प्रर्दर्शनीको अवलोकन गरेका हुन्।

‘एक्स्पाे’ले सुरुका दुई महिना ( अक्टोबर र नोभेम्बर) मा कुल १० हजार ४ सय ६१ वटा कार्यक्रमहरुको आयोजना गरेको बताएको छ। उक्त समयमा राष्ट्रपति, राष्ट्राध्यक्ष, प्रधानमन्त्री र मन्त्रीसहित कुल ५ हजार ३ सय ८३ सरकारी नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्न वा राष्ट्रिय दिवस मनाउने उद्देश्यले ‘एक्स्पो’को ‘साइट’लाई हेरेको तथ्यांक सार्वजनिक गरिएको छ।

‘एक्स्पाे’मा ५७ प्रतिशत दर्शकले ‘एक्स्पो सिजन पास’ लिएको बताइएको छ । जसअनुसार सुरूको दुई महिनामा दोहोरिएका दर्शकको संख्या १२ लाख पुगेको बताइएको छ। स्रोतको तथ्यांकअनुसार नोभेम्बरमा आएका अवलोकनकर्तामध्ये भारत, फ्रान्स, जर्मनी साउदी अरब र बेलायत जस्ता शीर्ष मुलुकहरुबाट मात्रै एक चौथाइभन्दा बढी ९२८ प्रतिशत आएको बताइएको छ।

त्यसैगरी अक्टोबर र नोभेम्बरमा लगभग ४ लाख ५५ हजार ट्याक्सीले सडक प्रयोग गरेर ‘एक्स्पाे’ स्थल प्रवेश गरेका थिए। त्यसैगरी ६ लाख भन्दाबढी यात्राहरु निःशुल्क ‘एक्स्पो राइडर बस’मार्फत, र २२ लाख अवलोकनकर्ता दुबई मेट्रोमार्फत आएको बताइएको छ।

‘लाइभ एट एक्स्पो’द्वारा संचालित भर्चुअल साइटमार्फत २ करोड ५० लाख अवलोकनकर्ताले ‘एक्स्पो’को अवलोकन गरेको श्रोतको तथ्यांक छ। सो अवसरमा बेलायतको ‘फेब्राइट वेबसाइट अवार्ड’द्वारा नोभेम्बर २०२१ को लागि ‘एक्स्पो दुबई डटकम’लाई सम्मान गरिएको समेत बताइएको छ।

त्यसैगरी नोभेम्बर महिनामा रिभरडान्सको लोकप्रिय दौड, संगीतकारहरुको प्रदर्शन, कन्सर्ट र दौड जस्ता कार्यक्रमहरु संचालित भएका थिए।