अदालतको निर्णयपछि कुल आचार्यलाई टिम भड्किने डर!

अदालतको निर्णयपछि कुल आचार्यलाई टिम भड्किने डर! फाइल फोटो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी चुनावमा अध्यक्षको प्रत्यासी मानिएका कुल आचार्यको हठधर्मिता कायमै रहेको छ। उच्च अदालत पाटनले शेष घले र उनको टिमले परराष्ट्र मन्त्रालयलाई गुमराहमा राखेर गर्न लगाएको निर्णयविरूद्ध अन्तरिम आदेश दिइसकेको छ।

तर, उनले सम्माननीय अदालतको निर्णयलाई सम्मान गर्नुको साटो उल्टै गैरआवासीय नेपालीको अभियानमा लागेका व्यक्तिहरूलाई भड्काउने कार्य सुरु गरेका छन्। पहिले उनकै टिमले परराष्ट्रमा उजुरी हालेर घोषित निर्वाचन स्थगित गर्न लगाएको थियो। यसपछि अध्यक्ष कुमार पन्तको समयावधी समाप्त भएको तर्कसहित परराष्ट्रबाट गैरकानुनी रूपमा संरक्षक परिषद्को नाममा शेष घलेलाई एनआरएनएको सम्पूर्ण अधिकार दिलाउन सफल भएका थिए।

तर, उच्च अदालतको आइतबारको निर्णयले परराष्ट्रको पत्रविरूद्ध अन्तरिम आदेश दिएपछि शेष घले र कुल आचार्य टिमलाई ठूलो धक्का लागेको थियो। अदालतको आदेशले एनआरएनएको चुनाव गराउने वैधानिक बाटो खुलेको अवस्थामा उनले सोसल मिडियामा एउटा कमेन्ट पोस्ट गर्दै भनेका छन्, ‘साथीहरू, एनआरएनएलाई पद्धति र पारदर्शितामा आधारित समावेशी संस्था बनाउने हाम्रो अभियान जारी छ। उच्च अदालत पाटनमा कुल उद्देश्यले मुद्धा दायर गरिएको थियो भन्ने अहिले आएर स्पष्ट भएको छ। तर, सत्यको विजय निश्चित छ।’

एनआरएनएको विधि र विधानलाई कुल्चेर शेष घलेलाई अधिकार दिँदासमेत चुइँक्क केही नबोलेका कुल आचार्यको पछिल्लो भनाइले उनी हतोत्साही भएको धेरैको बुझाइ छ। उच्च अदालतको निर्णयले उनको र शेष घलेको पोल खुलेको रूपमा ब्याख्या हुन थालेपछि उनले आफ्नो खेमामा रहेका सबैलाई धैर्य धारण गर्न आग्रह गरेका छन्।