कतारमा भारतीय कोरोना खोप ‘कोभाक्सिन’लाई सशर्त स्वीकृति

कतारमा भारतीय कोरोना खोप ‘कोभाक्सिन’लाई सशर्त स्वीकृति

दोहा। कतारको स्वास्थ्य मन्त्रालयले आफ्नो कोभिड–१९ यात्रा तथा फिर्ता नीति (ट्राभल एण्ड रिटर्न पोलिसी) मा भारत बायोटेकद्वारा निर्मित कोभाक्सिन खोपलाई सशर्त स्वीकृति प्रदान गर्ने भएको छ।

सो नियम लागू भएसँगै अबदेखि कतारमा सशर्त स्वीकृति प्राप्त खोपहरुमा सिनोफार्म, सिनोभ्याक र स्पुतनिक भिसँगै कोभ्याक्सिन पनि पर्नेछ।

कतारमा प्रवेश गर्नुअघि सशर्त स्वीकृति प्राप्त खोपमा सूचिकृत खोपको दुबै मात्रा लगाएको हुनुपर्ने र दोस्रो मात्रा लगाएको १४ दिनपछि सेरोलोजी एन्टीबडी परीक्षणको ‘पोजेटिभ’ नतिजा अनिवार्य साथमा हुनु पर्नेछ। त्यस्तै, सो सूचीमा समाबिष्ट खोपको दुबै मात्रा लगाएपछि, एक मात्रा फाइजर वा मोडर्ना खोप लगाएको १४ दिनपछि मात्र पूर्ण रुपमा खोप प्राप्त गरेको मानिने बताइएको छ।

त्यसैगरी कतारमा पूर्णरुपमा स्वीकृति प्राप्त खोपको सूचीमा फाइजर र बायोटेक (कोभिर्नाटी), मोडर्ना (स्पाइकभाक्स), एस्ट्राजेनेका (कोभिसिल्ड, अक्सफोर्ड र भ्याक्स्जेभ्रिया) र जोन्सन एन्ड जोन्सन रहेका छन्।