राप्रपा केन्द्रीय सदस्यमा यूएईमा कार्यरत दाहालको उम्मेदवारी

राप्रपा केन्द्रीय सदस्यमा यूएईमा कार्यरत दाहालको उम्मेदवारी

काठमाडौं। विगत ११ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा बसोबास गरिरहेका निश्चल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टिको काठमाडौंमा भइरहेको एकता महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

करिव दुई दशकदेखि राप्रपाको राजनीतिमा सक्रिय रहेका दाहाल सामाजिक कार्यमा पनि अग्रसर छन्। उनले एनआरएनए यूएईमा एक कार्यकाल युवा संयोजक भएर काम गरेका थिए। हाल उनी महासचिव पदमा कार्यरत छन्।

देशले परिवर्तन खोजेको र राप्रपाको अबको नेतृत्व युवाको हातमा जानुपर्छ भन्दै आफूले उम्मेदवारी दिन चाहेको उनले प्रवास खबरसँग स्पष्ट पारे। उनी अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट उठेको बताउँछन्।

‘देशले लोभ लालचमा नपरी समाजलाई दिने मात्र संंकल्प बोकेको त्यागी युवा मागेको छ। त्यसैले मैले राजेन्द्र लिङ्देनको प्यानलबाट चुनाव लड्ने निर्णय गरेको हुँ,’ उनले भने।

झापा जिल्ला कचनकवल गाउँपालिका वार्ड नं ६ का स्थायी बासिन्दा दाहाल आफूलाई राजेन्द्र लिङ्देनको सालिनता, भ्रष्टाचारविरुद्धको कठोरता र परिवर्तनप्रतिको बफादारिता मनपरेको बताउँछन्।

पहिचानको मुद्दा जुरमुराएको समयमा, आदिम सभ्यता बोकेको हिन्दु धर्मावलम्बीहरुको पहिचान विश्व जगतमा नेपालले मात्र बोक्न सक्ने र यो नै बिश्वमा नेपालको चिनारी बन्नेमा दाहाल विश्वस्त देखिन्छन्।