जापानले विशेष भिसाको प्रावधान रोक्यो, काठमाडौंमा भिएफएस सेवा बन्द

जापानले विशेष भिसाको प्रावधान रोक्यो, काठमाडौंमा भिएफएस सेवा बन्द

टोकियो। जापान सरकारले केही सर्त पूरा गरेर आफ्नो देशमा प्रवेश गर्न विदेशी नागरिकलाई दिँदै आएको विशेष भिसाको प्रावधानलाई पनि केही समयका लागि स्थगित गरेको छ।‘ओमिक्रोन’ संक्रमणको फैलावटलाई रोक्न यस्तो कदम उठाउनु परेको जापान सरकारले बताएको छ।

जापानबाट प्रकासित हुने समाचारपत्रहरुले विशेष भिसाको प्रावधानलाई अस्थायी रुपमा प्रतिबन्ध लगाउने सरकारी निर्णयले जापान प्रवेश गर्न पर्खिरहेका हजारौं मानिसलाई असर पर्ने भन्दै लेख प्रकासित गरेका छन्। सरकारले स्थगित कार्यलाई एक महिना अर्थात् डिसेम्बरको अन्त्यसम्म लागू गर्ने बताएका छ।

जापानले यहि सोमबारबाट नयाँ विदेशी आगमनलाई रोकेको थियो तर, विशेष परिस्थिति भएका मानिसलाई भिसा जारी गरिरहेको थियो,जसले जापान आउने क्रम रोकिएको थिएन। यही कारण नेपालबाट विशेषगरी डिपेण्डेन्ट भिसा बाहकहरु १ डिसेम्बरसम्म जापान प्रवेश गरिरहेका थिए ।

तथापि, बुधवार सरकारले कूटनीतिक वा अन्य विशेष उद्देश्यका लागि यात्रा गर्नेहरूको दायरालाई सीमित गर्दै विशेष परिस्थितिको परिभाषालाई कडा बनाएको हो।

अघिल्लो मापदण्ड अन्तर्गत जारी गरिएका भिसा अस्थायी रूपमा अमान्य हुनेछन् । एक महिनाको निलम्बन अवधिमा देश प्रवेश गर्न चाहने विदेशीहरूलाई पुन ः आवेदन दिन भनिनेछ । भिसाको लागि आवेदन दिइसकेकाहरुको लागि नयाँ मापदण्ड अनुसार प्रशोधन गरिने बताइएको छ । नेपालको हकमा भिएफएसमा आवेदन दिएर अपोईनमेन्ट लिएकाहरु रद्द हुन पुगेको छ भने उनीहरुको अपोईनमेन्ट भिएफएसले नै सुचारु भएपछि तोकेर नयाँ मिति जानकारी गराउने वा सूचना प्रकाशित गर्नेछ।

योसँगै नेपालमा रहेको भिएफएस अर्को सूचना जारी नभएसम्मका लागि अघोषित रुपमा बन्द गरिएको छ । नयाँ आवेदन लिनेलगायतका काम भिएफएसले डिसेम्बर महिनाभर गर्नेछैन।

नयाँ मापदण्ड अनुसार जापानी परिवारका सदस्य, कूटनीतिज्ञ र मानवीय वा सार्वजनिक हितका लागि जापान प्रवेश गर्नेहरूलाई मात्र भिसा दिइनेछ । सरकारले यसअघिको मापदण्डमा समावेश गरिएका संगीत, खेलकुद र कला कार्यक्रममा संलग्न व्यक्तिहरूलाई प्रवेश अनुमतिलाई सीमित गर्ने योजना बनाएको छ।