नेपाली विधार्थीको पहिचान खुलाउन कोरियाली नागरिकको राष्ट्रपतिसमक्ष अपिल

नेपाली विधार्थीको पहिचान खुलाउन कोरियाली नागरिकको राष्ट्रपतिसमक्ष अपिल

सौल। नाबालिक किशोरी बलात्कार काण्डमा मुछिएका नेपाली तथा बंगलादेशी विधार्थीको पहिचान खोल्नुपर्ने तथा दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने माग राख्दै दक्षिण कोरियाली नागरिकहरूले राष्ट्रपतिसमक्ष ‘पब्लिक पेटिसन’ दायर गरेका छन्।

कोरियाको निम्नमाध्यमिक तहमा अध्ययनरत नाबालिक किशोरीलाई प्रलोभनमा पारेर नेपाली तथा बगाली विधार्थीहरूले यौन शोषण गर्दै आएको घटनामा गत मंगलबार ख्याङ्दोङ प्रहरीले ६९ जनालाई पक्राउ गरेको थियो।

बलात्कृत किशोरीलाई गत डिसेम्बरयता पटक पटक गरेर सय पल्टसम्म बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

नेपाली र बंगाली विधार्थीको पहिचान खोल्न र कडा कार्यवाहीको माग गर्दै राष्ट्रपतिसमक्ष दायर गरिएको ‘पब्लिक पेटिसन’ मा १६ हजारभन्दा बढीको हस्ताक्षर भइसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका निवर्तमान अध्यक्ष यज्ञराज सुवेदीले प्रवास खबरलाई जानकारी दिए।

दक्षिण कोरियामा २ लाखभन्दा बढी जनताले कुनै विषयको जानकारी माग्न राष्ट्रपतिसमक्ष निवेदन दर्ता गरेको खण्डमा राष्ट्रपति कार्यालयले सर्वसाधारणलाई सूचना उपलब्ध गराउनु पर्ने नियम छ।

‘यो हाम्रो लागि लाजमर्दो कुरा हो। यो घटनाले नेपालीहरूको शीर निहुरिएको छ,’ सुवेदीले भने, ‘पहिले पाकिस्तानीहरुको विषयमा राम्रो इमेज थिएन। अब नेपालीको विषयमा पनि यस्तै हुनेछ। रोजगारी गरेर बसेका अन्य नेपालीलाई पनि यसले ठूलो क्षति पुर्याउने छ।’

बलात्कार काण्डमा मुछिएका नेपाली विधार्थीका कारण यहाँ रहेका अन्य नेपालीलाई पनि कडाई हुने उनको भनाइ थियो। यस विषयमा आफूसँग थप जानकारी केही नभएको सौलस्थित नेपाली दूतावासका कार्यवहाक राजदूत रामसिंह थापाले बताए।

‘पत्र–पत्रिकाबाटै हामीले पनि थाहा पाएका हौं। यहाँको प्रहरीसँग कुराकानी हुँदा अहिले अनुसन्धान भइरहेको र सबै बताउन नमिल्ने भनेका छन्,’ कार्यवहाक राजदूत थापाले भने, ‘अनुसन्धान सकिएपछि सबै जानकारी दिन्छौं भनेका छन्। यसपछि मात्र हामीले थप केही बताउन सक्ने छौं।’

यो पनि पढ्नुहोस्

 कोरियाली नाबालिकालाई बलत्कार गर्ने नेपालीसहित बंगाली विधार्थी पक्राउ