तोकिएकै समयमा निर्वाचन हुन्छ : अध्यक्ष पन्त

तोकिएकै समयमा निर्वाचन हुन्छ : अध्यक्ष पन्त

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन । परराष्ट्र मन्त्रालयले हालै जारी गरेको पत्रबारे जानकारी दिने उद्देश्यले शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पन्तले भने निर्वाचन पूर्व घोषित मिति (डिसेम्बर १५ मै) हुने बताएका छन । निर्वाचन संरक्षण समितिले नभई वर्तमान कार्यसमितिले नै गर्नेमा कुनै आशंका नभएको अध्यक्ष पन्तले बताए ।

अध्यक्ष पन्तले संघको विधान विपरित प्रमुख संरक्षक शेष घलेले कार्यसमितिको सम्पूर्ण अधिकार माग गरेपछि संघ थप संकटतर्फ धकेलिएको बताए । उनले संरक्षक परिषद्को मागलाई गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय परिषद्को बैठकले अस्वीकार गरेको बताउँदै संघको विवाद सुल्झाउन संघको नेतृत्व स्वयं सक्षम रहेको बताए ।

संघको विशेष महाधिवेशनको म्यानडेट अनुरुप विधान अनुरुप सबै राष्ट्रिय समन्वय समितिहरुको निर्वाचन सम्पन्न गरेर प्रतिनिधि चयन भएको अध्यक्ष पन्तले बताए । उनले गैरआवासीय नेपाली संघलाई असफल गराउने उद्देश्यले केही राष्ट्रिय समितिहरु अरुको उस्कावटमा लागेको भन्दै संघको हितका लागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।

पन्तले गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घलेले संघको विवाद मिलाउन कुनै चासो नदेखाएको बताए । उनले घलेसँग पटक–पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएर संस्थालाई अनिर्णयको बन्दी बनाएको गुनासो गरे । अध्यक्ष पन्तले प्रमुख संरक्षक पूर्वअध्यक्षसँग छलफलमा समेत बस्न नचाहेकोले भित्र ठूलो सांठगाठ भएको आशंका व्यक्त गरे ।

अध्यक्ष पन्तले नेपाल सरकारले पनि गैरआवासीय नेपाली संघमाथि अन्याय गरेको उल्लेख गरे । मन्त्रालयसँग पटक–पटक छलफल गरेर निर्वाचन गर्न अनुरोध गरेको तर मन्त्रालयले नियतवस केही व्यक्तिको प्रभावमा निर्णय गरेको बताए । पन्तले परराष्ट्र मन्त्रालयले पार्टीको भातृसंस्थाको जस्तो प्रवृति देखिएको भन्दै मन्त्रालयले अन्यायपूर्ण नीति लिएको बताए ।

कुनै अमुक उम्मेदवारको पक्षमा लागेका संरक्षक परिषद्का सदस्यहरुले सबै सदस्यहरुलाई न्याय दिन नसक्ने पन्तको भनाई थियो । उनले परराष्ट्र मन्त्रलायप्रति गैरआवासीय नेपालीहरुको विश्वास नरहेकै कारणले अदालतको ढोका ढकढकाउन बाध्य भएको बताए ।